Logo
Logo

ओलीलाई नेतृत्वबाट हटाउन एमाले कार्यदलको सुझाव


0
Shares

काठमाडौँ । ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पद त्यागेर कार्यकर्ताको भावना सम्बोधन गर्न सुझाव दिएको छ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गठित १५ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनमा सरकार र पार्टी कमजोर हुनुको कारण ओलीको कार्यशैलीलाई औँल्याइएको छ। प्रतिवेदनमा नेतृत्व हस्तान्तरण गरेर आम कार्यकर्ताको भावना सम्बोधन गर्न ओलीलाई आग्रह गरिएको छ।

ओलीमाथि कठोर टिप्पणी गर्दै प्रतिवेदनमा पार्टीमा सहज रूपमा नेतृत्व हस्तान्तरण नहुँदा धेरै समस्या सिर्जना भएको उल्लेख छ। साथै, कार्यदलले नेतृत्वको कार्यशैली र असक्षमतालाई भूराजनीतिसँग जोड्न नमिल्ने ठहर गरेको छ।

प्रतिवेदनमा भनिएको छ, ‘पार्टीमा उत्पन्न चुनौतीका सन्दर्भमा नयाँ ढङ्गले अघि बढ्नुपर्ने पार्टी कार्यकर्ताको भावना र अपेक्षाको सम्बोधन नेतृत्व तहबाटै हुनु आवश्यक छ। पार्टीमा नेतृत्वको सहज हस्तान्तरण नहुँदा नेतृत्वप्रति नै उत्पन्न अनास्था र असन्तुष्टि बढ्न जाने यथार्थलाई समेत भूराजनीतिसँग जोड्नु उचित हुँदैन। पार्टी नेतृत्वप्रतिको असन्तोष भदौ २३ र २४ अघि नै सार्वजनिक रूपमा प्रकट हुन थालिसकेको थियो। प्रधानमन्त्रीको उपस्थितिमा आयोजना हुने कार्यक्रमको सुरक्षा व्यवस्थामा विशेष प्रबन्ध गर्नुपर्ने अवस्था त्यतिबेला नै सिर्जना भइसकेको थियो। भदौ २३ र २४ पछि नेतृत्वका सन्दर्भमा पार्टीभित्रबाट उठेका प्रश्नलाई महाधिवेशनका माध्यमबाट सम्बोधन गर्ने कोसिस गरियो, तर त्यसले पनि समस्या समाधान गर्न सकेन। यस्तो अवस्थालाई पार्टी नेतृत्व स्वयंले गम्भीर ढङ्गले मनन गरी आधारभूत तहका पार्टी कार्यकर्ताको भावनालाई सम्बोधन गर्नु आवश्यक देखिन्छ।’

कार्यदलले ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान पुनःस्थापित गर्न सुझाव दिएको छ। ओलीको अनुकूलताका लागि हटाइएको उक्त प्रावधान विधानमा पुनःस्थापित गरे मात्रै पार्टी कार्यकर्ता आशावादी हुने प्रतिवेदनमा उल्लेख छ।

सुझावमा भनिएको छ, ‘पार्टी जीवनको लोकतान्त्रीकरणको प्रमुख आधारका रूपमा रहेको उमेर हद र कार्यकालको सीमा हटाउँदा त्यसले पार्टीको क्रियाशीलतामा नकारात्मक असर पुगेको पार्टीपङ्क्तिको बुझाइ छ। यस्तो अवस्थामा पार्टी विधानमा पहिले व्यवस्था गरिएको ‘७० वर्षे उमेर हद’ र कार्यकारी पदहरूमा ‘बढीमा दुई कार्यकाल’को व्यवस्थालाई विधान संशोधन गरेर पुनःस्थापित गर्नुपर्छ भन्ने अधिकांश कार्यकर्ताको राय देखिन्छ।’

ओलीको चाहनाविपरीत प्रतिवेदन बुझाएको कार्यदलमा उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शङ्कर पोखरेल रहेका छन्। पौडेल, गुरुङ र पोखरेलकै अग्रसरतामा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन तयार पारिएको हो।

त्यस्तै उपमहासचिव लेखराज भट्ट, सचिवहरू पद्मा अर्याल र भानुभक्त ढकाल पनि कार्यदलमा छन्। त्यसैगरी आठै भौगोलिक प्रदेशका इन्चार्जहरू छविलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई, महेश बस्नेत, लीलानाथ श्रेष्ठ र दामोदर भण्डारी कार्यदलका सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस्