Logo
Logo

नदी किनारका बासिन्दालाई उच्च सतर्कताको आग्रह


0
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ ।

The current image has no alternative text. The file name is: pm-office-1.gif

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पिएमओ) का अनुसार जोखिममा परेका नागरिकको सहयोगका लागि नेपाली सेनाले बुधबार राति नै खाद्यसामग्री, टेन्ट र औषधिसहितका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको छ ।

उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायसँगै निजी क्षेत्रले पनि सहयोग गरिरहेको कार्यालयले जनाएको छ । बाढी आएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरिएको थियो । सेना र निजी क्षेत्रका हेलिकोप्टरसमेत प्रयोग गरी उद्धार कार्य सुरु गरिएको थियो ।

नेपाली सेनाको टोलीले रातभर स्थलमार्गबाट उद्धार कार्य जारी राखेको थियो । बिहीबार बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर र पैदल टोलीलाई थप सक्रिय बनाइएको छ ।

फसेका नागरिकको उद्धारसँगै बेपत्ता भएकाहरूको खोजीलाई पनि तीव्र पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारी संयन्त्रलाई प्रभावित क्षेत्रमा केन्द्रित गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्