Logo
Logo

अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्‍याउने काम भइरहेको छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्‍याउने काम भइरहेको जानकारी गराएका छन् ।

The current image has no alternative text. The file name is: balen-1.jpg

प्रधानमन्त्री शाहले उद्धारका लागि आज बिहान ६:३० बजेदेखि उडानहरू सुरु भइसकेका जानकारी गराएका हुन् । बिहानदेखि हालसम्म १५ भन्दा बढी उडानहरू भइसकेका र थप हेलिकोप्टरहरू उडानका लागि तयारी अवस्थामा रहेको प्रधानमन्त्री शाहले जानकारी गराएका हुन् । 

‘नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गर्न सफल भएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भने ।

प्रभावित स्थानमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट, फलाम–ढुङ्गा काट्ने मेसिन लगायत पुर्‍याउने क्रममा रहेको उनले बताए । विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था छिट्टै हुने प्रधानमन्त्री शाहले बताए ।

‘नुवाकोटमा अस्थायी शिविर तयार गरिसकिएको छ । खाना तथा पानीको व्यवस्था गरिएको छ,’ प्रधानमन्त्री शाहले जानकारी गराउँदै सामाजिक सञ्जालमा लेखेका छन्,‘ड्रोन सर्वेबाट सबै ठाउँको जानकारी सङ्कलन अन्तिम चरणमा छ । उद्धारको क्रममा हेलिकोप्टरमा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकाहरूलाई प्राथमिकता दिइनेछ ।’

प्रतिक्रिया दिनुहोस्