Logo
Logo

चीनले भन्यो- ‘ब्यारियर लेकबाट सिर्जना हुनसक्ने जोखिमलाई पूर्ण रूपमा न्यूनीकरण गर्न चुनौतीपूर्ण’


0
Shares

काठमाडौँ । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ (केरुङ) नाकामा गएको विनाशकारी पहिरोपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई शुक्रवारदेखि थप तिब्र पारिएको छ ।

समयसँग प्रतिस्पर्धा गर्दै उद्धारकर्मीहरू प्रभावित क्षेत्रमा परिचालित भएका छन् । चीनको राष्ट्रिय अग्नि तथा उद्धार प्रशासनका अनुसार शुक्रवार बिहान १० बजेसम्म कुल ६ सय ८१ जना अग्नि नियन्त्रक तथा उद्धारकर्मी र ११३ वटा सवारी साधन विकट हिमाली क्षेत्रमा पुगेका छन् । यसका साथै ६ हजार ६१२ थान उद्धार उपकरण र आवश्यक बन्दोबस्तीका सामग्री जिरोङ गाउँतर्फ पठाइएको छ ।

नेपालतर्फबाट शुरु भएको पहिरो बुधवार बिहान जिरोङ काउन्टीको केरुङ नाकामा खसेको थियो । बिहीवार बिहान ८ बजेसम्मको प्राप्त विवरण अनुसार यस प्राकृतिक विपत्तिमा परी ३ जनाको मृत्यु भएको छ भने ५ सय ५८ जना अझै बेपत्ता छन् । दुईजना स्थानीय बासिन्दालाई भने सुरक्षित रूपमा उद्धार गरिएको छ ।

उद्धार कार्यका लागि बिहीबार बिहान १४१ जना उद्धारकर्मीको पहिलो टोली र उच्च उचाइमा उडान भर्न सक्ने हेलिकप्टर घटनास्थलमा पुगेका थिए । सोही दिन अपराह्न चीनको विशेष खोज तथा उद्धार टोलीका थप १११ जना सदस्यहरू जिरोङ आइपुगेका छन् ।

उद्धार कार्यलाई प्रभावकारी बनाउन तीनवटा विशेष टोली परिचालन गरिएको छ । यी टोलीहरूले रबरको डुङ्गामार्फत जलमार्ग, पैदल मार्गबाट जटिल हिमाली भू-भाग र ड्रोनको माध्यमबाट हवाई निरीक्षणका साथै राहत सामग्री ढुवानी गरिरहेका छन् , एक अग्रिम टोलीले मुख्य विपद् क्षेत्रको म्यापिङ, निगरानी र पहिरोले थुनिएको नदी ९ब्यारियर लेक० को अवस्थाबारे अध्ययन गरिरहेको छ । उद्धार प्रयासलाई प्राविधिक सहयोग पुर्‍याउन आपतकालीन व्यवस्थापन मन्त्रालय अन्तर्गतको सांघाई फायर रिसर्च इन्स्टिच्युटका १३ जना विज्ञहरू पनि घटनास्थल पुगेका छन् ।

यसैबीच, चीनको सरकारी स्वामित्वको इन्जिनियरिङ तथा उद्धार निकाय ‘चीन आनेन’ ले १५ सदस्यीय विशेषज्ञ टोली परिचालन गरेको छ । उक्त टोलीले ड्रोन, पोर्टेबल स्याटेलाइट स्टेशन र मोबाइल सर्भिलेन्स क्यामरामार्फत अवरुद्ध सडक र ब्यारियर लेकको अवस्थाको सूक्ष्म अध्ययन गरिरहेको छ ।

उद्धारकर्मीहरूका अनुसार नाकाभन्दा करिव ३ किलोमिटर माथिल्लो क्षेत्रमा थुप्रिएको लेदो र गेग्रान हटाउनुअघि ब्यारियर लेकबाट सिर्जना हुनसक्ने जोखिमलाई पूर्ण रूपमा न्यूनीकरण गर्नु चुनौतीपूर्ण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्