काठमाडौं । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको प्राविधिक हाइड्रोपावर परिवारले रसुवा बाढीपछि माथिल्लो त्रिशूली थ्री ‘ए’मा खटिएका ४५ जना दक्ष प्राविधिक तथा कर्मचारीको उद्धारमा भएको ढिलाइप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

प्राविधिक हाइड्रोपावर परिवारले अनुरोधपत्र सार्वजनिक गर्दै सुरुङभित्र फसेका प्राविधिक तथा कर्मचारीको उद्धार कार्य ढिलो सुरु हुनुका साथै अपेक्षित गति लिन नसकेकोमा पनि चिन्ता जाहेर गरेको छ ।
अनुरोधपत्रमा भनिएको छ, ‘‘सुरुङभित्रको अक्सिजनको स्तर, पानीको सतह, संरचनागत जोखिम, सञ्चार सम्पर्क र अन्य प्राविधिक चुनौतीका कारण प्रत्येक बितिरहेको क्षण जीवनरक्षाको दृष्टिले अत्यन्त महत्त्वपूर्ण बन्दै गएको छ।’’
देशभरका जलविद्युत् केन्द्रमा प्राविधिक समस्या समाधान गर्न जोखिम मोलेर दिनरात खटिने दक्ष जनशक्ति अहिले प्राकृतिक विपत्तिमा जीवनरक्षाको प्रतीक्षामा रहेको अवस्थामा उद्धारमा थप ढिलाइ नहोस् भन्दै पीडित परिवारले सरकारलाई युद्धस्तरमा प्रभावकारी उद्धार कार्य सम्पन्न गर्न आग्रह गरेका छन् ।
















