Logo
Logo

गुठी र छाँया सेन्टरको विवाद सकियो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ पुस । नेपालको पर्यटकीय बजारको रुपमा विकसित ठमेलमा खोलिएको अत्याधुनिक शैलीको व्यापारिक केन्द्र छाँया सेन्टर र त्यसमा रहेको विश्वस्तरीय पाँच तारे होटल एलफ्टले चर्चेका जग्गाको विवाद टुंगिएको छ ।

सेन्टरले सो जग्गा खरिद गर्नु पहिले सो जग्गाको स्वामित्व रहेको विक्रमशील महाबिहार सिंह सार्थबाहु गरुड भगवान गुठी र त्यसका मोही अम्बिका राणाबीचमा अहिले कुनै विवाद नरहेको किटानीसहितको पत्र गुठीले सेन्टरलाई पठाएपछि यसको विवाद टुंगिएको हो ।

गुठीले जग्गामा कुनै पनि विवाद नरहेको भन्दै गत असोज २७ गते छायाँदेवी कम्प्लेक्सका नाममा पत्र पठाएको छ । छाँया सेन्टरले गत साउन १२ गते गुठी र मोहीबीच हाल देखा परेको विवादका समपूर्ण विवरण र कागजातहरु पठाउन माग गरेको पत्रको जवाफ दिंदै गुठीले सो पत्र पठाएको हो । सिंहसार्थ बाहु गुठीले असोज २७ गते पत्र काटेको थियो ।

गुठीले बतायो सत्य र तथ्य

छायाँदेवी कम्प्लेक्सले चर्चेको १५ रोपनी जग्गा मध्ये १२ रोपनी जग्गा विक्रमशील महाविहार सिंहसार्थ बाहु गुठीको नाममा रहेको पोखरीको परेको दावी छ । गुठीले छाँयादेवी कम्प्लेक्स प्रा.लि.लाई पठाएको पत्रको भाषा हेर्दा २०२५ जेठ १७ मा पेश गरिएको लगतअनुसार सो ठाँउमा रहेको कमल पोखरी र डिलको कित्ता नम्बर १६७ को क्षेत्रफल १२–१३–२ गरी जम्मा २६–८–० क्षेत्रफलको जग्गा १९६७ माघ २९ गतेदेखि केशर शमशेर जबराले हकभोगमा लिएको देखिन्छ ।

उनको मृत्युपछि गुठीयारहरुले उनका छोरा केयुरसम्शेर जबराको हकभोगबाट छुटाएर गुठीको हक कायम गरी पाऊँ भन्दै मध्यमाञ्चल क्षेत्रीय अदालतमा २०३१ बैशाख १२ मा मुद्दा दिएका थिए । सो मुद्दाका सम्बन्धमा २०३१ माघ २२ गते मध्यामाञ्चल क्षेत्रीय अदालतले गुुठीयारहरुको दावी नपुग्ने फैसला गर्यो । गुठीयारहरु सो फैसला उपर पुनरावलोकनको माग राखी सर्वोच्च अदालतमा निवेदन गरेकोमा सम्मानित सर्वोच्च अदालतको रोहमा गुठीयार र केयुरसमशेरको परिवारबीच सो पोखरी र डिल समेत सिंहसार्थ बाहु गुठीको नाममा दर्ता कायम राख्ने गरी २०३३ पुस ३ गते मिलापत्र भएको थियो ।

यसैबीच २०३३ सालमा भएको सर्वे नापीको फिल्ड बूकमा सो कमल पोखरी र डिल समेतको जग्गामा फिल्डमार्सल केशरसमशेर मोहीमा र जग्गाधनीमा विक्रमशील महाविहार सिंह सार्थबाहु गुठी कायम गरिएको थियो ।

गुठीले छाँयादेवी कम्प्लेकसलाई पठाएको पत्र अनुसार गुठी संस्थान ऐन २०३३ को आधारमा गुठी लगत तथा तहसिल कार्यालय भद्रकालीले २०३९ जेठ २१ गते निवेदक मोहीको मोही हक कायम गराई पाउने माग अनुसार दिएको निवेदन अनुसार मोहीको नाममा नामसारी गरी केयुरसमशेरको हक कायम भएको र उनको मृत्युपछि २०४४ माघ २४ गतेको कार्यालयको निर्णयबाट अम्बिका राणाको नाममा मोही नामसारी भएको थियो ।

तर, यसैबीच गुठी र मोहीसंग कतैपनि नजोडिएका शंकरप्रसाद साहले केयुरसमशेरको नाममा रहेको र गुठी तहसिल कार्यालयले अम्बिका राणाको नाम मोही नामसारी भएको जग्गाको दावी गर्दै गुठी तहसिल कार्यालयमा निवेदन दिएपछि गुठी संस्थानले २०४७ साल चैत्र २२ गतेका दिन सो जग्गा अम्बिका राणा र शंकरप्रसाद साहको नाममा कायम हुने निर्णय गरेपछि गुठी रैतानी गरी जग्गाधनी पूर्जा लिएको देखिन्छ ।

२०४७ माघ १८ गते गुठी रैतानी भइसकेको निर्णयलाई बदर गर्दै सोही साल चैत १४ गते पुनस् अर्को निर्णय गरिएपछि न्यायको लागि पुनरावेदन अदालत पाटनमा निवेदन दिएकी अम्बिका राणाको मुद्दामा २०५३ जेठ २५ मा अदालतले गुठी संस्थानको पहिलो निर्णय कायम राखेको र पछिल्लो निर्णय बदर हुने फैसला गरेको थियो ।

अदालतको सो फैसला बदर गराउन गुठीयारहरुले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा २०६२ असार १६ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीशको रोहबरमा अम्बिका राणा तथा गुठीका गुठीयार थकालीहरूबीच मिलापत्र भएको बताउँदै त्यसपछि अहिलेसम्म कुनै पनि विवाद नरहेको गुठीले जनाएको छ ।

गुठीको पत्रले सो जग्गाको मोही अम्बिका राणा रहेको र उनीबाट जग्गा खरिद गरी छायाँ सेन्टरले ब्यापारिक भवन बनाएको विषयमा अरुले चित्त दुःखाउने र झैझमेला सिर्जना गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ । ठमेल साविक २९ नम्बर वडा (हाल २६ नम्बर)का पूर्व वडाध्यक्ष विश्वम्भरलाल प्रधानले स्थानीय र छायासेन्टरबीच कुनै किसिमको विवाद नरहेको बताएका छन् ।उनले भने ‘केही व्यक्तिले आफ्नो स्वार्थपूर्तिका लागि विवाद निकालेका हुन्, नत्र स्थानीय समुदाय र छायाँ सेन्टरबीच विवाद छैन । शंकरप्रसाद साह र अम्बिका राणाको विवादमा गुठीलाई पार्न खोजेको देखियो ।

प्रतिक्रिया दिनुहोस्