काठमाडौं । पुरुष एसीसी प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि १ सय ४ रनको लक्ष्य पाएको छ । बिहीबार मलेसियाको बाङ्गीस्थित वाईएसडी यूकेएम ओभलमा जारी खेलमा मलेसियाले ३२.३ ओभरमा सबै विकेट गुमाएर १ सय ३ रन बनाएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाको सुरुवात राम्रो हुन सकेन । १४ रनमा टोलीले दुवै विकेट गुमाएको थियो । त्यसपछि ब्याटिङ गर्न आएका अकिल वाहिद र स्याहदत रामलीले इनिङ्सलाई केही समय सम्हाल्न खोजेका थिए । तर, वाहिद २४ रन तथा रामली १३ रनमा आउट भए ।
वीरन्दीप सिंह पनि १४ रन बनाएर पभेलियन फर्किए कप्तान सायेद अजिजले ४९ बलमा ३० रन बनाउँदै पालीलाई अगाडि बढाउन खोजे । तर, टोलीले लगातार विकेट गुमाइरह्यो ।
नेपालका लागि करन केसीले ७. ओभर बलिङ गर्दै २३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । ललित राजवंशीले २ विकेट हात पारे भने कप्तान सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीले १/१ विकेट हात पारे ।
सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ३ विकेटले हराएको थियो । जारी प्रतियोगितामा एउटा समूहबाट शीर्ष दुईवटा टोलीले मात्र सेमिफाइनलमा स्थान बनाउने छन् । सोही कारण समूह चरणको चारवटै खेल महत्त्वपूर्ण हुनेछन् । नेपालको समूहमा रहेका अन्य टोलीमा हङकङ र साउदी अरब रहेका छन् ।














