काठमाडौं । इटालीको चर्चित फुटबल क्लब एएस रोमाले नेपालका बाढी तथा पहिरोपीडितका लागि सहयोग जुटाउन विशेष पहल गरेको छ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत फेनरबाह्चेविरुद्धको खेलमा रोमाका खेलाडीले ‘टुगेदर फर नेपाल’ अर्थात् ‘नेपालका लागि एकजुट’ सन्देश अङ्कित जर्सी लगाएर मैदान उत्रिएका हुन् । गएराति सम्पन्न खेलमा दुवै टोलीले १/१ गोलको बराबरी खेलेका थिए ।

टर्कीमा खेलकुद जर्सीमा सट्टेबाजी तथा जुवा कम्पनीको विज्ञापन राख्न प्रतिबन्ध रहेकाले रोमाले आफ्नो मुख्य प्रायोजकको लोगो राख्न नपाउने भएपछि नेपालप्रति ऐक्यबद्धता जनाउने यो अवसर प्रयोग गरेको हो । रोमाले विशेष रूपमा प्रयोग गरिने ती जर्सी लिलामी गर्ने र त्यसबाट प्राप्त रकम नेपालका बाढीपीडितको राहत तथा पुनःस्थापनामा खर्च गर्न डब्लुएफपीलाई उपलब्ध गराउने जनाएको छ ।
यो महिना आएको विनाशकारी बाढीका कारण नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । बाढी र पहिरोका कारण १ हजार ३०० भन्दा बढीको मृत्यु भएको र हजारौँ मानिस अझै बेपत्ता रहेको बताइएको छ । रासुवा र नुवाकोटसहितका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ ।
एएस रोमाले आफ्नो वेबसाइटमार्फत नेपालमा बाढी तथा पहिरोबाट प्रभावित समुदायको सहयोगका लागि क्लब र डब्लुएफपीबीच सहकार्य भएको जनाएको छ ।
यसअघि च्याम्पियन्स लिगका खेल सुरु हुँदा नेपालका बाढीपीडितको सम्झनामा प्रतियोगिताका सबै खेलमा एक मिनेट मौनधारण गरिएको छ । खेल सुरु हुनुअघि खेलाडी, प्रशिक्षक, अधिकारी र समर्थकहरूले बाढीपीडितप्रति सम्मान व्यक्त गरेका थिए। विभिन्न रंगशालाका स्क्रिनमा समेत नेपालका बाढीपीडितप्रति समर्थन जनाउने सन्देश प्रदर्शन गरिएको थियो । इंग्ल्यान्डको प्रिमियर लिग क्लब आर्सनलले पनि आर्सनल फाउन्डेसन र सेभ द चिल्ड्रेनमार्फत नेपालमा बाढीपीडितका लागि राहत सहयोग गरिरहेको छ ।















