काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ ।

सोमबार पूर्वसभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा बसेको सो समूहको बैठकले सानेपाको निर्णयका आधारमा संस्थापन पक्षले तय गरेको महाधिवेशनमा भाग लिन सक्ने अवस्था नरहेको निचोड निकालेको एक नेताले बताए ।
यसअघि संस्थापन पक्षको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा १५औँ महाधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो ।
आफूहरु कुनै पदका लागि नभइ पार्टीलाई जोगाउने अभियानमा अघि बढेकाले उमाकान्त चौधरीले यसअघि प्रस्तुत गरेको १५ औँ महाधिवेशनको कार्यतालिकालाई अघि बढाउने निर्णय गरेको ती नेताले बताए ।
बैठकपछि कांग्रेस नेता डा. प्रकाशशरण महतले संस्थापन पक्षको निर्णयका बारेमा अनौपचारिक छलफल भएको र आजै ४ बजे पत्रकार सम्मेलन गरेर औपचारिक धारणा तय गर्ने जानकारी दिए ।
कांग्रेसको कार्यसम्पादन समिति बैठकले १५औँ महाधिवेशनमा भाग लिन वा आयोजकका रूपमा सामेल हुन चाहने १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई केन्द्रीय सदस्यको हैसियतमै स्वागत गरी जिम्मेवारी दिने निर्णय गरेको थियो ।















