काठमाडौँ । २०७१ असार १९ देखि साउन १ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको नेकपा(एमाले)को नवौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको अध्यक्ष निर्वाचित भएका केपी शर्मा ओली आफैँले बनाएको २ कार्यकाल र ७० वर्ष उमेर हदको उल्लंघन गर्दै तेस्रो पटक अध्यक्ष निर्वाचित भइसकेका छन् ।

उनी नेतृत्वमा आउनासाथ तत्कालिन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) बिच २०७४ सालमा एकिकरण भएर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बनेपनि ओलीको हठ र अहंकारले तिन वर्षपछि नेकपा विभाजित मात्रै भएन, माधव कुमार नेपाल, झलनाथ खनाल लगायत दर्जनौँ नेताहरुले बिद्रोह गरेर एमाले परित्याग गरे । ओलीले २०७७ साल पुष ५ मा संसद विघटन गरेपछि पार्टीमा उनको विकल्पको खोजी सुरु भएको थियो । आज पर्यन्त उनको विकल्पको खोजी भइरहे पनि उनले अध्यक्ष पद नछोड्ने हठ गरिरहेका छन् ।
गत वर्षको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्रीको कुर्सि छोडेर बालुवाटारबाट नेपाली सेनाको हेलिकप्टरमा भागेका ओली गत फागनु २१ गतेको प्रतिनिधि सभा चुनाव हारेसँगै संसदीय राजनीतिबाट ‘रिङ आउट’ भएका छन् । झापाबाट निर्वाचन हारेपछि नैतिक रुपमा उनले पार्टी अध्यक्ष पद छाडेर नयाँलाई अवसर दिनुपर्नेमा नैतिकताको ख्याल नगरी उनले अध्यक्ष पद ओगटी रहेका छन् । एमाले विश्वस्त सुत्रका अनुसार उनले अहिले जति हठ गरेपनि एमालेको भावि अध्यक्ष विद्या भण्डारीलाई सुम्पने ओलीले भित्री तयारी गर्दैछन् ।
जेनजी आन्दोलनमा निर्ममतापूर्वक गोली चलाएर ७८ जना युवाहरुको हत्या गर्नुले तत्कालिन प्रधानमन्त्री ओली र नेकपा(एमाले)प्रति आम जनमानस नकारात्मक बन्यो । तत्कालिन प्रधानमन्त्री ओलीले जनतासँग माफिसम्म नमागेको भन्दै आजसम्म उनीप्रति नेपाली समाज नकारात्मक छ भने गौरी बहादुर कार्की आयोगको प्रतिवेदनले उनलाई १० वर्ष कैद सजायको माग गरिएको छ ।
जसको परिणाम गत प्रतिनिधि सभामा ७९ सिटसहित दोस्रो स्थानमा रहेको एमाले लज्जास्पद हारसहित २५ सिटको तेस्रो स्थानमा खुम्चिनुले उक्त कुराको पुष्टि गरेको छ ।
जेनजी आन्दोलनकै आलोकमा एमालेमा उनको बर्हिगमन, पार्टी नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको माग र मुद्दा चर्को रुपमा उठ्यो । त्यसलाई दबाउनका लागि उनले गत मंसिरमै ११ औँ महाधिवेशन गरेर नेतृत्वमा दोहो¥याएर पाँच वर्षका लागि पद सुरक्षित गरेपनि अहिले उनको विधिवत राजीनामाको मागले एमालेको राजनीति तातेको छ । एमालेमा माओवादी पृष्ठभूमीका रामबहादुर थापा ‘बादल’ बाहेक अन्य नेता साथमा छैनन् ।
गत जेठमा बसेको पार्टी सचिवालय बैठकमा अध्यक्ष ओली अल्पमतमा परेका थिए । पुनर्गठन पक्षधरको बहुमत भएपछि बाध्य भएर निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको लागि सुझाव पेश गर्न उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा १५ सदस्यीय कार्यदल बनाउनु प¥यो ।
देशभरको पार्टी पंक्तिको सुझाव नीति, नेतृत्व र संगठनलाई यथास्थितिमा राखेर पार्टी अगाडि बढ्न सक्दैन भन्ने आयो भने नेतृत्वमा तुरुन्तै ओलीको विकल्प खोज्नुपर्ने भन्ने छ । तर, कार्यकर्ताको सुझावकै आधारमा प्रतिवेदन आएपनि त्यसलाई ठाडै अस्वीकार गरेर ओलीले पार्टी कमिटीको सार्वभौमिकता र सर्वोच्चतामाथि नाङ्गो रुपले चुनौती दिएका छन् ।
उनको दम्भ र अहंकारका कारण पार्टी कमिटी स्वंय निरिह देखिएका छन् भने समयानुकुल एमाले रुपान्तरण हुने अवस्था नबन्दा पुराना राजनीतिक दलहरुप्रतिको वितृष्णा अझै बढ्दै जाने देखिएको छ । सत्ता साम्राज्य ढल्दा, चुनावमा शर्मनाक हार बेहोर्दा र पार्टी भित्रै पनि चरम अलोकप्रिय भइसक्दा समेत चेत नखुलाएर पदमा टाँसिइरहनुले एमालेलाई अझ धेरै क्षति हुने आँकलन पार्टी पंक्तिमा छ ।
केही महिना अगाडि विद्या भण्डारीको सदस्यता ‘रिन्यू’ गर्नु नै उनलाई भावी अध्यक्ष स्वीकार्नु हो भन्ने कुरा एमालेले बुझेको छ तर पनि ओलीको हठको कारण नेतृत्व परिवर्तनको समय लम्बिदै जाँदा एमालेलाई घाटा पुगेको छ । अबको एक वर्ष भित्रै स्थानीय तह र प्रदेशको निर्वाचन हुने भएकोले पनि विशेष महाधिवेशन गरेर विद्या भण्डारीको नेतृत्वमा एमालेलाई अगाडि बढाउनुको विकल्प देखिदैन भन्ने आम कार्यकर्ताहरुको बुझाई छ ।













