काठमाडौं । कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टेस्ट राष्ट्र पाकिस्तानका हुसैन तलातलाई अनुबन्ध गरेको छ । क्लबले बिहीबार ३० वर्षीय अलराउन्डरलाई भित्र्याएको हो ।

लाहोरमा जन्मिएका तलातले सन् २०१८ देखि पाकिस्तानी राष्ट्रिय टिमबाट खेलिरहेका छन् । तीव्र गतिका बलरले पाकिस्तानबाट २३ टी-२० आई खेल खेल्दा ४४१ रन बनाएका छन् । त्यस्तै ६३ विकेट लिएका छन् । यस क्रममा उनले दुई अर्धशतक बनाएका थिए ।
एकदिवसीयतर्फ १२ खेल खेल्दा उनले २२४ रन बनाउनुका साथै ६२ विकेट लिएका छन् । लिसट एमा भने १२५ खेल खेल्दा ३ हजार ७५४ रन बनाएका छन् ।
यस्तै, १४१ विकेट लिएका छन् । तलातको आगमनसँगै कर्णाली याक्सको ब्याटर र बलिङ दुवै मजबुत भएको छ । पाकिस्तानी अलराउन्डर तेस्रो सिजनको लागि कर्णाली याक्समा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुन् । यसअघि बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अलीलाई कर्णालीले भित्राइसकेको छ ।
त्यस्तै दोस्रो सिजनमा सानदार प्रदर्शन गरेको स्कटल्यान्डका अलराउन्डर मार्क वाट पनि टिममा अनुबन्ध भइसकेका छन् । वाटबाहेक तला, अरिफुल र अकबर तीनै जना पहिलो पटक एनपिएल खेल्दै छन् ।
कात्तिक ९ गते सुरु हुने एनपीएल तेस्रो संस्करणका लागि कर्णालीको मार्कीमा सोमपाल कामी छन् । यस्तै राष्ट्रिय टिमबाट खेलिरहेका अलराउन्डर गुल्शन झा र बलर नन्दन यादव पनि कर्णालीमै छन् ।
यसैगरी कर्णालीले कर्णाली प्रदेशकै विपिन शर्मा, युनिस विक्रम सिंह र दीपेन्द्र रावतसँगै पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सुर्य तामाङ, दिवान पुन र सचिन शर्मालाई अनुबन्ध गरेको छ ।















