Logo
Logo

यसवर्ष दसैँमा उपत्यकामा सवारी दुर्घटना घट्यो


0
Shares

काठमाडौं ।  दसैँका समयमा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा उल्लेख्य कमी आएको छ । गत वर्षको दसैँमा १५५ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएकामा यस वर्ष दुर्घटनाको सङ्ख्या घटेर १०५ पुगेको छ भने दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ ।

The current image has no alternative text. The file name is: kathamandu-2.jpg

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना ५० वटाले घटेको छ । त्यसैगरी, दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पनि सात जनाले घटेको छ । यसले चाडपर्वका समयमा सडक सुरक्षामा गरिएको तयारी र निगरानी प्रभावकारी भएको देखाएको ट्राफिक प्रहरीको भनाइ छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले यस वर्ष भएका अधिकांश दुर्घटना दुईपाङ्गे्र सवारीसाधनसँग सम्बन्धित रहेको जानकारी दिनुभयो । उहाँका अनुसार तीव्र गतिका कारण सवारीसाधन अनियन्त्रित हुँदा दुर्घटना हुने गरेका छन् ।

प्रवक्ता सुवेदीले ट्राफिक प्रहरीले पूर्वतयारीसहित योजनाबद्ध रूपमा काम गरेकाले सडक सुरक्षामा सुधार आएको बताए । यातायात व्यवसायी, मजदुर तथा सम्पूर्ण सरोकारवालाको एकीकृत प्रयासले नागरिकलाई सुरक्षित यात्रा गर्न सहज भएको उनले बताए । 

उनले भने, “ट्राफिक प्रहरीले पूर्वतयारीसहित योजनाबद्ध तवरले काम गर्दा सडक सुरक्षित भएको छ । यातायात व्यवसायी, मजदुर साथीहरू र सम्पूर्ण सरोकारवालाको एकीकृत प्रयासले नागरिकले सुरक्षित यात्रा गरिरहेका छन् ।”

दुर्घटना भइराखेको अवस्थामा तत्काल उद्धार तथा प्रभावकारी उपचारको व्यवस्था गरिएकाले घाइतेको ज्यान बचाउन सहयोग पुगेको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए । उनका अनुसार सडक सुरक्षालाई प्राथमिकतामा राख्दै ट्राफिक सहित जनपथ प्रहरीले नियमित सुरक्षा जाँच, अनुगमन तथा संयुक्त जाँचलाई प्रभावकारी रूपमा सञ्चालन गरेको थियो ।

चाडपर्वका समयमा सवारीसाधनको आवागमन बढ्ने र चालकको लापरबाही तथा तीव्र गतिका कारण दुर्घटनाको जोखिम रहने भएकाले ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको थियो । विभिन्न स्थानमा गरिएको जाँच, निगरानी तथा प्रहरी परिचालनले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको ट्राफिक प्रहरीको भनाइ छ ।

यस वर्ष दसैँका समयमा दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिमा कमी आउनु सकारात्मक पक्ष भए पनि तीव्र गति र दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित दुर्घटनाले सडक सुरक्षामा थप सतर्कता आवश्यक रहेको देखाएको छ । ट्राफिक प्रहरीले चालकलाई गति नियन्त्रण गर्न, ट्राफिक नियम पालना गर्न र सुरक्षित रूपमा सवारीसाधन चलाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्