
काठमाडौं, १८ पुस । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालका कारण नेकपा विभाजनको अवस्थामा पुगेको बताएका छन् । उनले दुवै नेताले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढंगले चलखेल गर्दै केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनका षड्यन्त्र गरेकै कारण पार्टी विभाजनको अवस्थामा पुगेको बताए ।
मजदूर विशेष जिल्ला कमिटीले काठमाडां आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले प्रचण्डले पार्टी कब्जा गर्ने गरी गतिविधि सञ्चालन गरेपछि गम्भीर समस्या देखा परेको उल्लेख गरे । उनले भने, ‘प्रचण्डले निर्वाचनका बेलादेखि नै सहमति उल्लंघन गर्दै आउनुभएको हो । एउटै चुनाव चिन्हमा निर्वाचनमा जाने सहमति कार्यान्वयन नगर्दा १० लाख मत खेर जान पुग्यो ।’
उनले आफूहरु अझैपनि एकताका पक्षमा रहेको उल्लेख गर्दै एकता कमजोर पार्न खोज्ने तत्वलाई उचित ढंगले जवाफ दिन तयार रहेको बताए । प्रम ओलीले राम्रा काम अघि सार्दा आफूहरु पछि पर्ने डरले प्रचण्ड–नेपाल समूहले निरन्तर विरोध र अवरोध सिर्जना गरेको उनको आरोप छ ।
उनले प्रधानमन्त्रीले राष्ट्रियता र स्वाधीनताका पक्षमा दृढता पूर्वक उभिदै नाकाबन्दीको सामना, चीनसँग पारवहन सम्झौता र भारतले अतिक्रमण गरेको भूमि समेटी नयाँ नक्सा जारीलगायतका थुप्रै महत्वपूर्ण काम गर्दा सो समूहलाई असह्य भएको दावी गरे । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रचण्ड–नेपाल समूहले पार्टी र सत्ता कब्जा गर्ने रणनीतिका साथ अघि बढ्दा संसद् विघटनको अवस्था सिर्जना भएको बताए ।














