
काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा टाटासुमो दुर्घटना हुँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ ।
गत कात्तिक १ गते काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो नागथानबाट करिब २ सय मिटर तल सुनकोसी नदीमा खसेको थियो । दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए । तीन जना बेपत्ता भएका थिए ।
बेपत्तामध्ये खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ का ३० वर्षीय हरि पुर्कोटीको शव उदयपुरको कटारी नगरपालिका–१४ घारलेस्थित सुनकोसी नदीमा फेला परेको हो ।
सोही ठाउँकी २२ वर्षीया अप्सरा राईको शव सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित स्नानघाट नजिक सुनकोसी नदीको बीच भागमा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुवै शव कात्तिक ८ गते आइतबार फेला परेका हुन् । हरिको शव उनका काका तेजकुमार पुर्कोटी र अप्सराको शव उनका काका धनेन्द्र राईले बुझेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल खोटाङ लगेको प्रहरीले जनाएको छ ।















