Logo
Logo

राष्ट्रिय वाणिज्य बैंकलाई पुँजीकोषकै सकस


0
Shares

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा निक्षेपको आकार बढ्दै गए पनि त्यसअनुसार कर्जा विस्तार हुन सकेको छैन । बैंकसँग सात खर्ब रुपैयाँभन्दा बढी निक्षेप थुप्रिएको छ, तर त्यसको आधाभन्दा कम रकम मात्रै कर्जाका रूपमा परिचालन भएको छ ।

अर्कोतर्फ, कर्जा विस्तार गर्ने क्षमता र जोखिम बहन गर्ने आधारका रूपमा रहेको पुँजीकोष अनुपात पनि नियामकीय न्यूनतम सीमाको निकै नजिक पुगेको छ । यसले बैंकको वित्तीय अवस्थामाथि नाफा वृद्धिभन्दा फरक प्रश्न खडा गरेको छ ।

चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ४८.७४ प्रतिशतमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६०.७९ प्रतिशत रहेको यो अनुपात एक वर्षमै १२.०५ प्रतिशत बिन्दुले घटेको हो । बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको तुलनामा कति कर्जा परिचालन गरेका छन् भन्ने देखाउने यो सूचकमा आएको गिरावटले बैंकको स्रोत परिचालन क्षमता कमजोर रहेको देखाउँछ ।

असोज मसान्तसम्म बैंकले ग्राहकबाट सात खर्ब १४ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । तर, कर्जा प्रवाह भने तीन खर्ब ४० अर्ब ४२ करोड रुपैयाँमा सीमित छ । अर्थात् निक्षेपको तुलनामा कर्जा परिचालन निकै कम छ । बैंकको कुल सम्पत्ति नै आठ खर्ब सात अर्ब १५ करोड रुपैयाँभन्दा बढी पुगिसकेको अवस्थामा स्रोत परिचालनको कमजोर अवस्था उसको व्यवसाय विस्तारको प्रमुख चुनौती बनेको छ ।

राष्ट्र बैंकले बैंकहरूलाई अधिकतम ९० प्रतिशतसम्म सीडी रेसियो कायम गर्न सक्ने व्यवस्था गरेको छ । तर राष्ट्रिय वाणिज्य बैंकको अनुपात त्यसको तुलनामा निकै कम छ । यसले बैंकसँग थप कर्जा प्रवाह गर्न सक्ने स्रोतको अभावभन्दा पनि त्यसलाई परिचालन गर्ने क्षमता र अवसरको प्रश्न महत्त्वपूर्ण रहेको देखाउँछ । बजारमा कर्जाको माग कमजोर हुनु, निजी क्षेत्रको लगानी विस्तारमा देखिएको सुस्तता र बैंकको आफ्नै पुँजीकोषको अवस्थाले पनि कर्जा विस्तारलाई प्रभावित गरेको हुन सक्छ ।

बैंकको अर्को गम्भीर चुनौती पुँजी पर्याप्तता अनुपातमा देखिएको दबाब हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको पुँजी पर्याप्तता अनुपात ११.५३ प्रतिशत छ । गत वर्षको सोही अवधिमा ११.६४ प्रतिशत रहेको यो अनुपात घटेको हो । राष्ट्र बैंकले तोकेको न्यूनतम ११ प्रतिशतको सीमाभन्दा बैंकको पुँजीकोष ०.५३ प्रतिशत बिन्दुले मात्रै माथि छ ।

यसले बैंकको जोखिम बहन गर्ने क्षमता सीमित रहेको देखाउँछ । बैंकको प्राथमिक पुँजी (टियर–१) अनुपातसमेत ९.३० प्रतिशत छ । कर्जा विस्तार गर्दा जोखिम भारित सम्पत्ति बढ्ने भएकाले पर्याप्त पुँजीको आधार नभएको अवस्थामा बैंकलाई थप व्यवसाय विस्तार गर्न सहज हुँदैन । कर्जा विस्तारको सम्भावना हुँदाहुँदै पनि पुँजीकोषको दबाबले बैंकको व्यावसायिक क्षमतामा सीमा लगाउन सक्छ ।

बैंकको नाफा बढ्दैमा पुँजीकोषको समस्या तत्काल समाधान हुने अवस्था पनि छैन । पुँजीकोषमा सुधारका लागि नाफा सञ्चित गर्ने, पुँजी आधार विस्तार गर्ने र जोखिम भारित सम्पत्तिको व्यवस्थापन गर्ने विषय महत्त्वपूर्ण हुन्छन् । त्यसैले बैंकले कमाएको नाफालाई मात्रै वित्तीय स्वास्थ्यको आधार मान्न सकिँदैन ।

खराब कर्जा घटेन
पुँजीकोष र कर्जा परिचालनको दबाबबीच पनि बैंकको खुद नाफा भने उल्लेख्य बढेको छ । पहिलो त्रैमासमा बैंकले एक अर्ब ६४ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा ५९ करोड ८७ लाख रुपैयाँ रहेको नाफा यसपटक १७५.५३ प्रतिशतले बढेको हो ।

तर नाफामा भएको यो सुधारसँगै खराब कर्जाको अनुपातमा भने अपेक्षित सुधार देखिएको छैन । बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात गत वर्षको पहिलो त्रैमासको ३.८३ प्रतिशतबाट बढेर ३.८९ प्रतिशत पुगेको छ । खराब कर्जाको अनुपात घट्न नसक्नुले कर्जा असुली र सम्पत्तिको गुणस्तर सुधारमा अझै चुनौती रहेको देखाउँछ ।

यद्यपि सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि बैंकले गरेको कर्जा नोक्सानी व्यवस्थाको कभरेज अनुपात ११०.२५ प्रतिशत छ । यसले खराब कर्जाबाट हुन सक्ने सम्भावित क्षतिका लागि बैंकले पर्याप्त व्यवस्था गरेको संकेत गर्छ । तर, कर्जा असुलीमा सुधार नभएसम्म खराब कर्जाको अनुपातले भविष्यको नाफा र पुँजीकोषमा दबाब सिर्जना गर्न सक्ने जोखिम रहन्छ ।

बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानीको विस्तारसँगै कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम घट्नुको पनि भूमिका छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३७.४६ प्रतिशतले बढेर चार अर्ब एक करोड ४६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी दुई अर्ब ९२ करोड पाँच लाख रुपैयाँ थियो । त्यस्तै, गत वर्ष ९७ करोड ४९ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको बैंकले यसपटक ३५ करोड ५७ लाख रुपैयाँ मात्रै छुट्याएको छ ।

बैंकको लागतमा सुधार आउनु सकारात्मक पक्ष हो । बैंकको कस्ट अफ फन्ड २.८१ प्रतिशत र आधार दर ३.९० प्रतिशतमा झरेको छ । यसले तुलनात्मक रूपमा सस्तो लागतमा कर्जा प्रवाह गर्न सक्ने सम्भावना देखाउँछ । तर, सस्तो स्रोत उपलब्ध हुँदाहुँदै पनि त्यसलाई कर्जामा रूपान्तरण गर्न नसक्नु बैंकको प्रमुख समस्या हो ।

बैंकको चुनौती अब निक्षेप संकलन बढाउनेभन्दा पनि उपलब्ध स्रोतलाई सुरक्षित र प्रतिफलदायी क्षेत्रमा परिचालन गर्ने देखिन्छ । त्यसका लागि कर्जाको माग सिर्जना हुने वातावरण, निजी क्षेत्रको लगानी विस्तार र बैंकको पुँजीकोषमा सुधार आवश्यक हुन्छ ।

राष्ट्रिय वाणिज्य बैंकको पछिल्लो वित्तीय अवस्थाले एउटा विरोधाभास देखाएको छ । एकातिर नाफा झन्डै तीन गुणाले बढेको छ भने अर्कोतिर कर्जा परिचालन क्षमता कमजोर छ र पुँजीकोषमा दबाब कायम छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000