
काठमाडौं । देशभरका उपभोक्तालाई जुनसुकै कम्पनीको खाना पकाउने एलपी ग्यास सिलिन्डर साट्न पाउने व्यवस्था मिलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अधिवक्ता विमल पोखरेलले खाना पकाउने ग्यासको कृत्रिम अभाव, कालोबजारी र सिलिन्डर साट्दा उपभोक्ताले भोग्नुपरेको हैरानी अन्त्य गर्न जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर अर्को जुनसुकै कम्पनीको सिलिन्डर लिन पाउने व्यवस्था गर्नुपर्ने मागसहित रिट दायर गरेका हुन् ।
उद्योगी र डिलरहरूको मिलेमतोमा बजारमा ग्यासको अभाव सिर्जना गरी उपभोक्तालाई फरक कम्पनीको नयाँ सिलिन्डर महँगोमा किन्न बाध्य पारिएको रिटमा जिकिर गरिएको छ ।
यस्तो कार्यबाट संविधानको धारा १६ ले प्रत्याभूत गरेको ‘सम्मानपूर्वक बाँच्न पाउने हक’ र धारा ४४ ले व्यवस्था गरेको गुणस्तरीय वस्तु÷सेवा पाउने तथा क्षतिपूर्ति पाउने उपभोक्ताको अधिकार हनन भएको निवेदकको दाबी छ ।
सरकारले ग्यासलाई अत्यावश्यक वस्तुको सूचीमा राखेको भए पनि दसैँ–तिहारजस्ता चाडपर्वमा समेत कालोबजारी हुँदा विद्यार्थी, मजदुर तथा सर्वसाधारण उपभोक्ता मारमा परेको रिटमा उल्लेख छ । यस प्रकारको ठगी रोक्न जुनसुकै कम्पनीको ग्यास तत्काल साट्न पाउने व्यवस्था मिलाउन अन्तरिम आदेशको समेत माग गरिएको छ ।
दशकौँदेखि उपभोक्ताहरू ग्यास कालोबजारीको सिकार हुन बाध्य भएको उल्लेख गर्दै निवेदक पोखरेलले एउटै व्यक्ति तथा परिवारले दर्जनौँ उद्योग सञ्चालन गरेर सिन्डिकेट चलाएकाले त्यसलाई कानुनी रूपमै रोक्नुपर्ने बताएका छन् । उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ ।
















