Logo
Logo

नेपाल टेलिकमको १५ औँ वार्षिकोत्सव सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको १५ औं बार्षिकोत्सव मंगलबार माघ २२ गते विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिकम जहिले पनि अग्रस्थानमा रहेको बताउँदै आगामी दिनमा पनि चुनौतीविहीन रुपमा अग्रस्थानमै रहनु पर्ने बताउनु भयो । कम्पनीले नाफा हुने क्षेत्रमा मात्र नभई जनताहरु भएको जुनसुकै क्षेत्रमा पनि सेवा उपलब्ध गराइरहेको बताउँदै यसलाई संस्कृति सहितको कर्पोरेट संस्थाको रुपमा विकास गर्नुपर्ने बताउनु भयो ।

कम्पनीले व्यवस्थित बजार नीतिका आधारमा आगामी दिनमा प्रतिस्पर्धा, नाफा, सेवा र सुरक्षामा केन्द्रीत रही देशभर नेटवर्क विस्तार गरी सहज सुविधा सहितको सेवा उपलब्ध गराई देशको अर्थतन्त्रमा योगदान पु¥याउनका लागि भूमिका खेल्नु पर्ने उहाँले बताउनु भयो ।
नेपाल टेलिकमको सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले कम्पनीका केही महत्वपूर्ण आयोजनाहरु शुरु हुने क्रममा रहेका र केही आयोजना नयाँ चरणमा प्रवेश गर्ने क्रममा रहेकाले अवसरलाई सदुपयोग गरी अगाडि बढेमा कम्पनीको भविष्य उज्वल रहेको बताउनु भयो । उहाँले आयोजनाहरुको व्यवस्थापन कसरी गर्ने भन्ने वारेमा छलफल गरी सबै पक्ष अगाडि बढ्नु पर्ने बताउनु भयो ।
सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त कार्यालय प्रमुख पुरुषोत्तम खनालले कम्पनीको भविष्य र प्रगति यसको आम्दानीसँग जोडिएको बताउँदै कम्पनीलाई बजार हिस्सा बढाउने कार्यमा बढी ध्यान दिन आग्रह गर्नुभयो । कम्पनीको फोरजी सेवा विस्तार तथा मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने कार्यलाई द्रुततर गतिमा अगाडि बढाउन र नयाँ अतिरिक्त सेवामा समेत ध्यान दिन उहाँले सुझाव दिनुभयो ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको समग्र अवस्था वारेमा जानकारी गराउदै व्यावसायिक दक्षता, बजार विस्तार, राजस्व वृद्धि र उच्च कार्यदक्षता सहित कम्पनीलाई निरन्तर अग्रणी स्थानमा राख्नका लागि प्राथमिकता दिने बताउनु भयो । उहाँले वार्षिकोत्सवको अवसरमा सेवाग्राहीहरुका लागि विभिन्न प्याकेज तथा छुटको घोषणा गर्नुभयो । उहाँले कम्पनीका विभिन्न चुनौतीहरुको समाधानको लागि अवलम्बन गरिने रणनीतिहरुको चर्चा समेत गर्नुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको सफ्ट लन्च गर्नुभयो । हालसम्म जीएसएम पोष्टपेड सेवामा मात्र उपलब्ध अन्तर्राष्ट्रिय रोमिङ सेवा अब प्रिपेड मोबाइलमा समेत प्रयोग गर्न सकिने छ । यसका लागि कुनै थप धरौटी राख्नु पर्दैन र आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोग गर्न सकिने छ । हाल सफ्ट लन्च मात्र गरिएको र निकट भविष्यमा यो सेवा व्यावसायिक रुपमा सञ्चालनमा ल्याइने छ । यो सेवा प्रारम्भमा चीन र भारतबाट शुरु गरी क्रमिक रुपमा अन्य मुलुकमा पनि विस्तार गर्दै जाने कम्पनीको योजना रहेको छ ।

मन्त्री बाँस्कोटाले कम्पनीको सेवा वारेमा २०७४ सालभरी उत्कृष्ट समाचार प्रकाशन गरेवापत कारोबार दैनिककी पत्रकार सरस्वती ढकाल र द हिमालयन टाइम्स दैनिकका पत्रकार सुजन ढुंगानालाई जनही एकमुष्ट ४० हजार नगद सहित ‘नेपाल टेलिकम पत्रकारिता पुरस्कार’ प्रदान गर्नुभयो ।
माननीय मन्त्री बाँस्कोटाले वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित स्मारिका विमोचन गर्नुका साथै कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो । त्यसैगरी कम्पनीको रिचार्ज सेवा तथा रिचार्ज कार्डको बिक्री लक्ष्य हासिल गर्ने थोक विक्रेता एवं कम्पनीका विभिन्न सेवाहरु प्रयोग गरी सर्वाधिक बिल भुक्तानी गर्ने संस्थागत तथा ब्यक्तिगत ग्राहकहरुलाई पनि कदर स्वरुप सम्मान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्