काठमाडौं । प्राकृतिक विपद्बाट क्षतिग्रस्त बीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम शुरु गरेको छ ।

यो खण्डसँगै अन्य तीन खण्डमा पुनःनिर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार बर्खेखोला–पिप्ले सडकखण्ड पुनःनिर्माणको लागि जाइकासँग २ अर्ब ६० करोडमा सम्झौता भई काम शुरु भएको हो । डिभिजन प्रमुख सुमन योगेशले जाइकाले हालै काम शुरु गरेको जानकारी दिए ।
यस्तै, पिप्लेदेखि काभ्रेको भकुण्डेबेँशीसम्मको खण्डमा पुनःनिर्माणको काममा अहिलेसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको बताए । उनका अनुसार डालाबेँशीबाट चारसयबेँशीसम्म ८.५ किलोमिटर पुनःनिर्माणको जिम्मा पाएको खानी–एवान–कमलजीत जेभीले २०८४ को जेठ अन्त्यसम्म निर्माणको काम सम्पन्न गर्ने जनाएको छ ।
यस्तै चारसयबेँशीबाट भकुण्डेबँेशीसम्म (११.८ किलोमिटर) सडक लामा–नवकान्तिपुर जेभीले आउँदो ०८४ साल असार १७ गतेभित्र काम सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाएको योगशको भनाइ छ ।
यसैगरि पिप्ले–डालाबेँशी २.३ किलोमिटर सडकखण्डको जिम्मा पाएको उमा एण्ड कम्पनी–भण्डारी जेभीले ०८४ साल कात्तिक २६ गतेसम्म निर्माण सक्नेछ । २०८१ साल असोज दोस्रो हप्ता रोशी खोलाको बाढीका कारण बीपी राजमार्गको काभ्रे–सिन्धुली खण्डको २९ किलोमिटर सडक पूर्णरूपमा क्षति भएको थियो ।
बीपी राजमार्ग पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाण्डौसँग जोड्ने छोटो मार्गका रूपमा रहेको छ ।


















