काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
नेपाल संवत् ११४७ को शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाले प्रवर्तन गरेको नेपाल संवत् नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको बताएका छन् ।

उनले लिच्छवि राजा राघवदेवको समयमा काठमाडौं उपत्यकाका किसान तथा गरिब जनतालाई ऋणमुक्त गराएर शङ्खधर साख्वाले नयाँ युगको सुरुवात गरेको स्मरणमा नेपाल संवत् प्रचलनमा आएको उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपाल संवत्जस्ता मौलिक परम्पराले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउँदै आएको बताएका छन् ।
उनले शङ्खधर साख्वाको सामाजिक मुक्ति र लोककल्याणकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले सामाजिक समानता, सुशासन, उन्नति र प्रगतिका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
साथै, नेपाल संवत्ले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकता सुदृढ बनाउन तथा नेपालको स्वतन्त्रता, इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।


















