Logo
Logo

एसएसपी बढुवामा को –को ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ पुस । गत साताको डिआईजी बढुवाले नेपाल प्रहरीमा फेरि सकारात्मक तरंग ल्याएको छ । वरिष्ठता र कार्यसम्पादनकै आधारमा डिआईजी बढुवा सिफारिस भएपछि धेरैले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रशंसा गरेका छन् ।

प्रशंसा मात्र होइन आगामी बढुवामा पनि यस्तै सिष्टम कायम रहने अपेक्षा प्रहरी अधिकारीहरुको छ । डिआईजी बढुवा सिफारिसविरुद्ध उजुरी नपरेकाले मंगलबार निर्णय हुने सम्भावना छ । त्यसपछि प्रहरीमा एसएसपीका नौ दरबन्दी रिक्त हुनेछन् । २ माघमा एसएसपीद्वय डा. गणेश रेग्मी र राजकुमार वैदवारले ३० वर्षे सेवाहदले अनिवार्य अवकाश पाउनेछन् । त्यसपछि ११ पद रिक्त हुनेछन् । जसकारण माघ पहिलो साता एसएसपीमा बढुवा हुने सम्भावना छ ।

कार्यसम्पादन र बरिष्ठताका आधारमा बढुवा भए ११ जना नै बढुवाको प्रतिस्पर्धामा छन् । सिनियर ब्याचबाट विकासराज खनाल, कृष्णकुमार महत, अर्जुन चन्द ठकुरी, गोविन्द शाह र उमाशंकर पञ्जियार छन् । उनीहरुमध्ये महत र चन्द स्वच्छ छवीका प्रहरी अधिकृत मानिन्छन् । नेताको घर धाउने स्वभाव नभएकाले उनीहरु विगतमा पछि परेका थिए । यसपटक उनीहरु बढुवा हुने पक्का छ ।

त्यसपछिको ब्याचबाट जनकराज पाण्डे, सुरेन्द्र मैनाली, कृष्णहरी शर्मा, चक्रबहादुर सिंह, भोला रावल र सुदीपराज भण्डारी छन् । तेस्रो ब्याचबाट मोहन पोखरेल, टिकाबहादुर केसी, डिल्लीराज पन्त, मधुसुदन लुईटेल, योगबहादुर पाल लगायत पनि दौडधुपमा लागेका छन् । केसी र पाल गुप्तचरबाट आएका अधिकृत हुन् । पटक पटक कारबाहीमा परेका उनीहरु कार्यसम्पादनमा कमजोर मानिन्छन् । गुप्तचरबाटै आएका बाँकेका एसपी ओमबहादुर रानाले समेत गृहमन्त्री बादलका छोरा प्रतिकमार्फत बढुवामा पर्न चलखेल गरिराखेको स्रोत बताउँछ ।

उता सशस्त्र प्रहरीको डिआइजी बढुवामा भने गाइजात्रा भएको छ । डिआइजीका सात दरबन्दी रिक्त रहेकोमा ६ जनाको मात्र सिफारिस भएको छ । जसमा कमल गिरीले पहिलो नम्बरमा बाजी मारे । ३० वर्षे सेवाहद बाँकी नै रहेमा उनीहले डिआईजीबाटै अवकाश पाउने सम्भावना समेत छ । त्यहीकारण केही एसएसपीले फर्म नै नभरेको स्रोत बताउँछ ।

———————————————————————————————————————————-

 

 

डिआईजीकै मिलेमतोमा खुल्यो गोरु तस्करी

देशको ध्यान यतिबेला संसद बिघटनविरुद्ध सर्वाेच्च अदालतले के गर्ला भन्नेमा छ । संसद बिघटन र नेकपा विभाजनका कारण देशको राजनीतिक कता जाने हो भन्नेमा सबैलाई चासो र चिन्ता छ ।

यस्तो अवस्थामा दुई नम्बरी धन्दा गर्नेहरु भने सक्रिय हुन थालेका छन् । कतिसम्म भने यही मौकामा गोरु तस्करी समेत सुरु भएको छ । लुम्बिनी प्रदेशमा डिआईजीसम्मकै सेटिङमा गोरु तस्करी सुरु भएको स्रोत बताउँछ ।

बाँकेमा रातिराति प्रहरीकै स्कर्टिङमा गोरु तस्करी हुने गरेको छ । बाँकेको गजुवा गाउँपालिका, रहनियापुर, राँजा, शमशेरगञ्ज हुँदै इलाका प्रहरी कार्यालय कोहलपुरले स्कर्टिङ गर्दै आएको छ । डिएसपी कुलदीप चन्द र सई रणवीर चौधरीले यसरी स्कर्टीङ गराउँदै आएका छन् । इप्रका कोहलपुरमा लामो समयदेखि सई चौधरीको सेटिङ चल्दै आएको छ । मुद्दा शाखामा कार्यरत उनै चौधरीले सबैसँग कारोबार मिलाउने र हाकिमलाई बुझाउने गरेको स्रोत बताउँछ ।

गोरु तस्करीमा भने प्रदेशका डिआईजी रबिन्द्र धानुककै समेत मिलमेतो रहेको स्रोत बताउँछ । बाँकेबाट दाङ हुँदै पूर्वी जिल्लामा खुलेआम तस्करी हुने गरेको छ । केही दिनअघि शमशेरगञ्जमा केही प्रहरीले गोरु लोड गरिएका ट्रक रोकेपनि डिआईजीको आदेश भन्दै छाडिएको थियो । लुम्बिनीका साथै प्रदेश नम्बर २ र प्रदेश नम्बर १ केही प्रहरीसँग समेत गोरु तस्करहरुले सेटिङ मिलाएर काम सुरु गरेका छन् । पश्चिमी जिल्लाहरुमा गोरु संकलन गरी झापाबाट भारत हुँदै बंगलादेश तस्करी हुने गरेको छ । यसमा धेरै पैसा हुने भएकाले ठूलो गिरोह सक्रिय हुँदै आएको छ । अहिले अस्थिर राजनीतिको फाइदा उठाउँदै तस्करीको समूह सक्रिय भएको हो ।

प्रतिक्रिया दिनुहोस्