Logo
Logo

सशस्त्रमा एक एआईजी रिक्त


0
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा अतिरिक्त महानिरीक्षक (एआईजी) को एक रिक्त पदमा बढुवाका लागि तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) बीच प्रतिस्पर्धा हुने भएको छ ।

एआईजी वंशीराज दाहाल बर्खास्तीमा परेपछि रिक्त भएको पदमा डीआईजीहरू सुरेश कुमार श्रेष्ठ, दीपेन्द्र शाह र पुरुषोत्तम थापा दाबेदारका रूपमा देखिएका छन् । तीनै जना एउटै ब्याचका अधिकारी हुन् । वरिष्ठता क्रममा श्रेष्ठ पहिलो, शाह दोस्रो र थापा तेस्रो स्थानमा छन् । वरिष्ठता, कार्यसम्पादन र विवादित छविका कारण बढुवा प्रक्रिया चासोपूर्ण बनेको छ ।

वरिष्ठताका आधारमा श्रेष्ठ बढुवाका स्वाभाविक दाबेदार देखिए पनि पछिल्लो समय उनको छवि विवादमा तानिएकाले बढुवा प्रक्रिया सहज हुने देखिँदैन । वरिष्ठता मात्रै निर्णायक हुन्छ कि विवादित पृष्ठभूमि र कार्यसम्पादनलाई पनि सरकारले महत्त्व दिन्छ भन्ने प्रश्नले सशस्त्र प्रहरीभित्र चासो बढाएको छ ।

श्रेष्ठ हाल सीमा सुरक्षा विभागमा कार्यरत छन् । शाह सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरो प्रमुख छन् भने थापा सशस्त्र प्रहरी बलको एकेडेमीमा कार्यरत छन् । यसअघि यही ब्याचका अञ्जनीकुमार पोखरेल एआईजीमा बढुवा भइसकेका छन् । अब रिक्त एक पदमा कसले बाजी मार्छ भन्ने प्रतिस्पर्धा थप पेचिलो बनेको छ । श्रेष्ठ सिनियर हुन भने थापा आइजीपीका निकटपात्र हुन् । शाह पनि कमजोर पात्र होइनन । उनका लागि सुदुरपश्चिमका नेताहरुले साथ दिइरहेका छन् ।

यसअघि संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले एआईजी वंशीराज दाहाललाई असोज २५ गते सेवाबाट बर्खास्त गरेको थियो । उनकै बर्खास्तीसँगै एआईजीको एक पद रिक्त भएको हो ।

सशस्त्र प्रहरीमा एआईजी बढुवाका लागि अब औपचारिक सूचना प्रकाशन गर्नुपर्नेछ । सूचनापछि बढुवाका लागि योग्य डीआईजीहरूले आवेदन दिनेछन् । प्राप्त आवेदनका आधारमा बढुवा समितिले उम्मेदवारहरूको मूल्यांकन गरी बढुवाका लागि सिफारिस गर्नेछ ।

बढुवा समितिको सिफारिसपछि हुने निर्णयप्रति चित्त नबुझेमा सशस्त्र प्रहरी नियमावलीअनुसार सात दिनभित्र उजुरी दिन सकिने व्यवस्था छ । त्यसैले यसपटकको बढुवा केवल वरिष्ठताको प्रतिस्पर्धामा सीमित नभई सरकारको निर्णय र बढुवा समितिको मूल्यांकनसमेत परीक्षण गर्ने विषय बनेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000