Logo
Logo

स्थानीय तह चुनावी रणनीति बनाउन एमालेको दुई दिने जमघट आजदेखि


0
Shares

काठमाडौं । नेकपा (एमाले) ले पार्टीको वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढ गर्दै आगामी स्थानीय तह निर्वाचनको तयारीमा पार्टी पङ्क्तिलाई परिचालन गर्ने उद्देश्यसहित आजदेखि दुई दिनसम्म काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछ ।

मंसिर २ र ३ गते चल्ने भेलामा देशभरबाट ३ हजार ५१४ जना नेता, कार्यकर्ता तथा जनप्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ । पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका अनुसार भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहका पार्टी कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहनेछ । भेलाको उद्घाटन आज बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

काठमाडौंको माइतीघरस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने भेलामा ओलीसहित पार्टीका वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

भेलामा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै एमालेको राजनीतिक दृष्टिकोण र आगामी कार्यदिशाबारे धारणा राख्नेछन् । त्यस्तै, वरिष्ठ नेता भण्डारीले समसामयिक राजनीतिक परिस्थिति र पार्टीका आगामी कार्यभारबारे विशेष सम्बोधन गर्नेछिन् ।

उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् भने अर्का उपाध्यक्ष विष्णु पौडेलले एमाले सरकारमा रहँदा भएका काम तथा उपलब्धिहरूको समीक्षा प्रस्तुत गर्नेछन् । महासचिव पोखरेलले पार्टीको सुदृढीकरण, शुद्धीकरण र स्थानीय निर्वाचनसम्बन्धी कार्ययोजना प्रस्तुत गर्नेछन् ।

एमालेका अनुसार भेलाको मुख्य उद्देश्य आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी गर्नु, पार्टीका निर्णय तथा राजनीतिक बुझाइमा एकरूपता कायम गर्नु र वैचारिक एवं सङ्गठनात्मक एकता मजबुत बनाउनु हो ।

पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा स्पष्ट पार्दै नेता तथा कार्यकर्तालाई एउटै राजनीतिक सन्देशका साथ परिचालन गर्ने लक्ष्य पनि भेलाले राखेको छ । एमालेको पछिल्लो महाधिवेशन पछिको यो सबैभन्दा ठूलो संगठनात्मक जमघट हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000