Logo
Logo

चीन भ्रमणमा रास्वपाको भित्री कुरा- ‘देउवाको हातमा कांग्रेस जानुपर्छ, त्यसको फाइदा हामीले लिनुपर्छ’


0
Shares

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद अहिले चीन भ्रमणमा छन् । सोही भ्रमणका क्रममा रास्वपाको आन्तरिक रणनीति र भित्री कुरा छताछुल्ल भएको छ ।

चीनको प्रविधि प्रदर्शनीमा रोबोटको प्रदर्शन हेरिरहेका सांसदहरूबीच भएको कुराकानी भिडियोमा कैद भएको छ । तर, उनीहरूको संवाद प्रविधि र विकासमा मात्रै सीमित छैन । भिडियोमा उनीहरूले नेपाली कांग्रेसको आन्तरिक विवाद, अदालतको सम्भावित फैसला र त्यसबाट रास्वपाले लिन सक्ने राजनीतिक लाभबारे समेत खुलेर कुरा गरेको सुनिन्छ ।

भिडियोमा सांसद श्रीराम न्यौपानेले भनेको सुनिन्छ, ‘शेरबहादुर देउवाको हातमा कांग्रेस जानुपर्छ अझै ।’ त्यसमा प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति समीक्षा बाँस्कोटा थप्छिन्, ‘अदालतले पनि फैसला गरेर स्थानीय चुनावसम्म शेरबहादुर देउवाको पक्षमा मान्यता जानुपर्छ । अनि ओलीलाई पनि रोक्नुहुन्न, किनभने ओली र महेश बस्नेत डबल चर्को भएर निस्कनुपर्छ ।’

बीचमा अर्का सांसदको आवाज सुनिन्छ, ‘रोकिँदैनन्, उनीहरूको स्वभाव नै त्यही हो ।’ त्यसपछि न्यौपाने पुनः थप्छन्, ‘त्यसको फाइदा हामी लिन्छौँ, तर त्यसका लागि हामीले पनि काम गर्नुपर्छ । फेरि त्यतिले मात्र पुग्दैन ।’

जवाफमा बाँस्कोटा भन्छिन्, ‘काम नगरे त हामीलाई पनि त्यही ठाउँमा पुऱ्याइदिन्छन् ।’

रास्वपा सांसदहरूबीच भएको यो संवाद अहिले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । सांसद न्यौपानेले उक्त भिडियो आफ्नै फेसबुकमा राखेका थिए । पछि हटाए पनि त्यसमा सुनिएको कुराकानी भने सार्वजनिक भइसकेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका २० जना नेता तथा सांसद चीन भ्रमणमा गएका हुन् । महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोलीमा न्यौपाने र बाँस्कोटासहितका नेताहरू सहभागी छन् । भ्रमणको उद्देश्य प्रविधि, औद्योगिक विकास, आर्थिक सहकार्य र सुशासनबारे अध्ययन गर्नु रहेको बताइएको छ । तर, भ्रमणका क्रममा सार्वजनिक भएको यो संवादले नेपाली राजनीतिमा नयाँ बहस जन्माएको छ ।

कांग्रेसको विवादमा रास्वपाको राजनीतिक दाउ ?

भिडियोमा सुनिएको संवादको केन्द्रमा नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद छ । कांग्रेसभित्र शेरबहादुर देउवा पक्ष र अर्को पक्षबीच नेतृत्व तथा आधिकारिकताको संघर्ष चलिरहेका बेला रास्वपा सांसदहरूले अदालतले देउवा पक्षलाई मान्यता दिनुपर्ने आशय व्यक्त गरेका छन् ।

त्यति मात्रै होइन, केपी शर्मा ओली र महेश बस्नेतलाई रोक्न नहुने र उनीहरू आक्रामक रूपमा प्रस्तुत हुँदा त्यसको राजनीतिक फाइदा रास्वपाले लिन सकिने आशय संवादमा झल्किन्छ ।

न्यौपानेले त कांग्रेसको विवादबाट रास्वपाले फाइदा लिन सक्ने भन्दै त्यसका लागि आफ्नै पार्टीले पनि काम गर्नुपर्ने बताएका छन् । यसले प्रतिस्पर्धी दलभित्रको विवादलाई रास्वपाले राजनीतिक अवसरका रूपमा हेरेको हो कि भन्ने प्रश्न उठाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000