
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राज्यका संयन्त्रले आफूलाई सहयोग नगरेको बताएका छन् । तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले राज्य संयन्त्रले साथ नदिएपछि प्रधानमन्त्रीले के गर्न सक्छ भन्दै आफ्नो बचाउ गरेका हुन् ।
बिहीबार काठमाडौंमा सम्पादकहरूसँगको छलफलमा ओलीले भदौ २४ गतेको घटनाक्रमबारे आफ्नो धारणा राख्दै राज्य संयन्त्रबाट अपेक्षित सहयोग नपाएको गुनासो गरे । उनले भने, ‘भदौ २४ गते राज्य संयन्त्रले साथ दिएन । राज्य संयन्त्रले साथ नदिएपछि प्राइममिनिस्टरले के गर्छ ?’
जेनजी आन्दोलनका क्रममा भदौ २३ गते युवाहरूको ज्यान गएपछि भोलिपल्ट संसद् भवन, सिंहदरबारलगायतका सरकारी संरचनामा आगजनी भएको थियो । उक्त घटनापछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
ओलीले आफूले राजीनामा दिएपछि बनेको सरकारका लागि कुनै सिफारिस नगरेको पनि स्पष्ट पारे । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएको विषयमा आफ्नो नाम जोडेर गलत प्रचार गरिएको उनको दाबी थियो । ‘केपी ओलीको सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त, संसद् विघटन भनेर झुट बोल्ने काम भयो,’ उनले भने ।
त्यसक्रममा ओलीले तत्कालीन राजनीतिक संकटको समाधान संविधानभित्रैबाट खोज्न आफूले राष्ट्रपतिलाई आग्रह गरेको जिकिर गरे । संविधान मिचेर समाधान खोज्न नहुने आफ्नो अडान रहेको सुनाउँदै उनले संविधानको दायराभित्र रहेर निकास निकाल्नुपर्ने बताएको उल्लेख गरे ।
राष्ट्रपति रामचन्द्र पौडेल र तत्कालीन प्रधानसेनापति अशोक सिग्देलले संविधानको कुन धाराअनुसार अघि बढ्ने भन्ने विषयमा आफूलाई सोधेको ओलीको भनाइ थियो । तर संविधानमा त्यस्तो परिस्थितिका लागि स्पष्ट व्यवस्था नभएकाले धारा उल्लेख गर्न नसकिएको उनको दाबी छ ।
ओलीले भने, ‘राष्ट्रपति र सेनापतिले संविधानको धारा खुलाइदिनुस् भन्नुभयो, भए पो धारा लेख्नु ।’
संविधानअनुसार प्रतिनिधिसभा सदस्य मात्रै प्रधानमन्त्री बन्न सक्ने व्यवस्था रहेको र पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री नियुक्त गर्ने स्पष्ट प्रावधान नरहेको विषय पनि उक्त राजनीतिक घटनाक्रमसँग जोडिएको छ ।
यसरी जेनजी आन्दोलनपछिको सत्ता परिवर्तन र सरकार गठनबारे उठेका प्रश्नमा ओलीले आफ्नो धारणा सार्वजनिक गर्दै त्यसबेलाको संकटमा राज्य संयन्त्रको भूमिकामाथि प्रश्न उठाएका छन् ।


















