Logo
Logo

राष्ट्रिय सहकारी बैंकको एकाधिकार तोडिँदै, नयाँ सहकारी बैंक दर्ताको तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंक दर्ता प्रकृया शुरु गर्न प्रारम्भिक भेला माघ १७ गते काठमाडौंमा हुने भएको छ । मुलुकभर करिब ३५ हजार सहकारी संस्थाको आर्थिक कारोबार राख्ने गरी बैंक स्थापना गर्न प्रक्रिया अघि बढाइएको हो । देशभरिकै सहकारी संस्थाको प्रतिनिधित्व हुनेगरी बैंक स्थापनाको तयारी भइरहेको छ । प्रारम्भिक भेला सम्पन्न गरी दर्ता प्रक्रियाका लागि सहकारी विभाग जाने तयारी गरिएको छ ।

प्रारम्भिक भेलासँगै विभागमा दर्ता प्रक्रिया गर्ने र राष्ट्र बैंकबाट स्वीकृत लिने प्रकृया अघि बढाइने भएको छ । नेपाल सहकारी बैंकको नाममा दर्ताका लागि आवश्यक तयारी पूरा भएको बैंक गठन कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार भेलालगत्तै प्रक्रिया अघि बढ्ने र मुलुककै सहकारी क्षेत्रको सबैभन्दा ठूलो बैंक हुने जानकारी गराए ।

संस्था दर्ता हुन ५०१ सहकारी संस्था आवश्यक पर्छ । तीमध्ये हालसम्म करिब एक हजार संस्था दर्ता प्रक्रियामा सहभागी हुने तयारी भइरहेको छ । बैकमा सदस्य सहकारी हुन आवेदक सहकारीले लगातार तीन वर्षदेखि नाफामा रहेको हुनुपर्नेछ । बैंक स्थापना हुन आवश्यकभन्दा बढी नै फाइल संकलन भइसकेको भण्डारीले बताए ।

‘अहिले सञ्चालनमा रहेको सहकारी बैंकले सबै सहकारी संघसंस्थाको आवश्यक्ता पूरा गर्न सक्दैन’, उनले भने, ‘त्यसका लागि नयाँ बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाएका हौँ, बंैक गठन कार्यदलका संयोजक भण्डारीले बताए । प्रारम्भिक चरणमा बैंकको सेयर पूँजी ३ अर्ब रुपैयाँ हुने उनले बताए ।

सहकारी ऐन–२०४८ मा भएको ब्यवस्थाअनुरुप स्थापना भएको बैंक सञ्चालनमा छ । तथ्याङ्कअनुसार सहकारी बैंकमा करिब १२ हजार मात्र सदस्य छन् । बैंकले सहकारी संघसंस्थाहरूसँग मात्र कारोबार गर्न पाउने ब्यवस्था छ । नयाँ ऐनमा एकभन्दा बढी सहकारी बैंक गठन गर्न सकिने व्यवस्था उल्लेख भएपछि नयाँ बैंक स्थापना प्रक्रिया अघि बढाइएको हो । हाल सञ्चालनमा रहेको सहकारी बैंकले नेपाल राष्ट बैकबाट बंैकिङ अनुमति पाएको छैन ।

राजधानीको कार्की बैङक्वेटमा आयोजना हुने भेलामा आवेदन दिन र छलफल गर्न देशभरका सहकारीका प्रतिनिधि आउने भएका छन् । सहकारी ऐन २०७४ को परिच्छेद–८ को धारा ५३ मा सहकारी बैंक स्थापना गर्न पाउने व्यवस्था छ । सो ऐनको धारा ५४ देखि ६० सम्म बैंकको विषयमा ब्याख्या गरिएको छ ।

त्यसैगरी सहकारी नियमावली–२०७५ को नियम ५ मा सहकारी बैंकको गठनका लागि सबै प्रदेशको प्रतिनिधित्व हुने गरी कम्तिमा ५०१ वटा संस्था वा संघ हुनुपर्ने व्यवस्था छ । आवेदन दिने संस्था वा संघहरुको संयुक्त सेयर पुँजी कम्तिमा तीन अर्ब रुपैयाँ हुनुपर्ने, संयुक्त संस्थागत पूँजी कम्तिमा ५० करोड रुपैयाँ हुनुपर्ने प्रावधान राखिएको छ ।

सहकारी बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक पर्ने व्यवस्था गरेको छ । बैक दर्ता प्रकृया शुरु गर्न प्रारम्भिक भेलाका निर्णय, व्यावसायिक कार्ययोजना, शेयर पूँजी तथा शुल्कवापत संकलित रकमको भरपाई, स्वघोषणापत्र, विभागले तोकेबमोजिम एक दिवसीय पूर्व सहकारी शिक्षा प्राप्त गरेको प्रमाणपत्र उपलब्ध गराउनुपर्नेछ । हाल सञ्चालनमा रहेको सहकारी बैंकले सबै सहकारीलाई समेट्न नसकेको जनाउँदै ऐनअनुसार नयाँ बैंक दर्ता प्रक्रिया शुरु गर्न भेला आयोजना गर्न लगिएको संयोजक भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्