Logo
Logo

आज २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ माघ । ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ आज २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईदैछ ।

नेपालमा वि.सं. २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले यो दिवस सरकारले मनाउन सुरु गरेको थियो । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको कुमारी मन्दिर परिसर बोडेमा कार्यक्रमको आयोजना गरिएको छ ।

आज बोडेमा हुने यस वर्षको मूल समारोहमा गृहमन्त्री रामबहादुर थापा प्रमुख आतिथिको रुपमा सहभागी हुने जनाईएको छ । कोरोना भाइरसका कारण अनलाइन प्रविधिमार्फत् र स्वास्थ्य मापदण्ड पूरा गरी देशका संघ, प्रदेश तथा स्थानीय तहहरुमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु हुने कार्यक्रम छ ।

भूकम्पीय सुरक्षा सम्बन्धी दुई दिवसीय राष्ट्रिय गोष्ठी कार्यक्रम, भूकम्पीय सुरक्षा सम्बन्धी डिजिटल प्रदर्शनी लगायतका कार्यक्रमहरु सामाजिक सञ्जाल तथा आम संचार माध्यम र अनलाइन प्रविधिमार्फत् आयोजना कार्यक्रम रहेको छ ।

देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा विगतका प्रयास तथा अनुभवहरु आदान-प्रदान गर्दै नयाँ प्रविधि र उपायहरुको प्रभावकारी कार्यान्वयनका लागि प्रतिवद्धता जनाउने उद्देश्यले २०५५ सालदेखि गृह मन्त्रालयको संयोजकत्वमा नेपाल सरकारले हरेक वर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसको रुपमा मनाईदै आएको हो ।

यो दिवस मनाउन थालेपछि वि.सं. २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करिब नौ हजार मानिसले ज्यान गुमाएका थिए । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्‍यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।

यसको पुनर्निर्माणका लागि पाँच वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गरिन् । राष्ट्रपतिले पुनर्निर्माणको शुभारम्भ गरेको स्थल रानीपोखरी र बालगोपालेश्वरको पुनर्निर्माण यसै वर्ष सम्पन्न भएको छ ।

भूकम्पीय सुरक्षासम्बन्धी दुई दिवसीय राष्ट्रिय गोष्ठी कार्यक्रम, भूकम्पीय सुरक्षासम्बन्धी डिजिटल प्रदर्शनीलगायतका कार्यक्रम सामाजिक सञ्जाल तथा आम सञ्चारमाध्यम र अनलाइन प्रविधिमार्फत आयोजना गरिने भएको छ । देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा विगतका प्रयास तथा अनुभवको आदान प्रदान गर्दै नयाँ प्रविधि र उपायको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता जनाउने उद्देश्यले यो दिवस मनाइँदै आएको हो ।

 

प्रतिक्रिया दिनुहोस्