Logo
Logo

सीमा समस्यालाई भारतले प्राथमिकतामै राखेन (भिडियो सहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ माघ । भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भूभागबारे छलफल नगर्ने संकेत गरेको छ ।

भारतीय विदेशमन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उसले दुई देशको संयुक्त आयोगको बैठक र सीमा समस्या सम्बन्धी विषय फरक रहेको बताएको छ । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन वार्ताको एजेण्डा बनाएपनि भारतले खासै चासो दिएको छैन ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँ दिल्ली ओर्लिएको केहीबेरमा भएको भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले सीमा विवादमा आफूहरुको सुरुदेखि नै पोजिसन स्पष्ट रहेको बताउँदै संयुक्त आयोग र सीमा समस्याका विषय फरक रहेको बताए ।

भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा आफ्नै भएको दाबी गर्दै आएको छ । यो विषयमा सुरुदेखिनै उसले नेपालसँग वार्ता चाहेको छैन ।

प्रवक्ता श्रीवास्तवले संयुक्त आयोग एक महत्वपूर्ण संयन्त्र भएको बताउँदै यसले अवसरहरु छनौट गर्ने, द्विदेशीय सहकार्य बढाउने र दुईदेशबीचको राजनीतिक मार्गचित्र तय गर्ने थलो रहेको बताएकाछन् ।

उनले सीमा विवाद अलगै पाटो रहेको उल्लेख गरेका छन् । नेपालले भने परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमै सीमा समस्या समाधानका लागि विषय उठान गर्न एजेण्डा नै तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्