Logo
Logo

नायिका मिनिषा भन्छिन्- हरेक व्यक्तिलाई प्रेम गर्ने छुट छ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं – नायिका मिनिषा लाम्बा सोसल मिडियामा निकै सक्रिय छिन् । उनले सोसल मिडियामा आफ्नो बोल्ड तस्बिरहरु सेयर पनि गर्ने गर्छिन् । पछिल्लो डेढ दशकदेखि फिल्मी दुनियाँमा सक्रिय मिनिषाले जिमी शेरगिलसँग फिल्म ‘यहां’ बाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् । नायिकाले आफ्नो १५ वर्षको लामो करियरमा थुप्रै फिल्ममा काम गरेकी छिन् । यद्यपि, मुख्य नायिकाको रुपमा उनी कमै देखिइन् ।

सन् २०२० मा उनी आफ्नो नीजि जीवनका लागि चर्चामा रहेकी थिइन् । उनले रेष्टुरेन्ट व्यवसायी रयान थामसँग सन् २०१५ मा विवाह गरेकी थिइन् । तर यो विवाह ५ वर्ष मात्रै चल्न सक्यो । सन् २०२० मा उनीहरुको सम्बन्धविच्छेद भयो । हालै दिएको अन्तर्वार्तामा उनले आफ्नो नीजि जीवनबारे कुरा गरेकी छिन् ।

मिनिषा लाम्बाले टाइम्स अफ इन्डियालाई दिएको एक अन्तर्वार्तामा भनेकी छिन्, ‘जीवन चलिरहन्छ र सबैभन्दा महत्वपूर्ण कुरा भनेको खुसी हुनु हो । यदि सबैकुरा राम्रो चलिरहेको छैन भने अलग्गिनु नै राम्रो हुन्छ । आज हामीसँग विकल्प छन् । अलग हुँदा आफूले गल्ती गरेको जस्तो हुँदैन ।’

उनी भन्छिन्, ‘हरेक व्यक्तिलाई प्रेम गर्ने छुट छ । प्रेमलाई पागलपनसम्म निभाउन पनि छुट छ । को महिलालाई प्रेम गर्न मन लाग्दैन होला । केही मानिसहरुको जीवनमा प्रेमको सन्दर्भमा खराब अनुभव पनि भएका होलान् । तर यदि प्रेम तपाईंको ढोकासम्म आफैं आइपुगेको छ भने ती महिलाले पनि आफ्नो मुटुको ढोका खोलेर प्रेम स्विकार गर्न पाउने अधिकार पनि छ ।’

स्मरण रहोस्, मिनिषा लाम्बाले एक वक्तव्य जारी गरेर सन् २०२० मा आफ्नो सम्बन्धविच्छेद बारे जानकारी दिएकी थिइन् । हाल कुनै फिल्मको हिस्सा नरहेकी उनले भनेकी थिइन्, ‘म र रायन आपसी सहमतिले अलग्गिँदै छौं । कानूनी रुपमा पनि प्रक्रिया पूरा भइसकेको छ ।’ कामको कुरा गर्नुपर्दा मिनिषा लाम्बा इमरान खानको फिल्म किडन्यापमा देखिएकी थिइन् । यसबाहेक उनी रणबीर कपुरको फिल्म बचना ए हसिनोको हिस्सा पनि रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्