Logo
Logo

ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ माघ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले चीनको ल्हासामा आज परीक्षण उडान गरेको छ । नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित एयरलाइन्सले आज पहिलोपटक माथिल्लो उचाइ गन्तव्यमा उडान गरेको हो ।


परीक्षण उडान एच ९ ९६१ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ः१५ बजे (स्थानीय समय) मा प्रस्थान गरी ल्हासाको गोङ्गर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०ः४६ बजे (स्थानीय समय) मा अवतरण भएको हिमालय एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । आजको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकाबद्ध उडानहरू शुरु गर्ने कम्पनीको व्यावसायिक योजनाअनुरूप नै भएको जनाइएको छ । एयरलाइन्सका सञ्चालन उपाध्यक्ष क्याप्टेन हाओ दिले वरिष्ठ क्याप्टेनहरुसहित परीक्षण उडानका चालक दलको नेतृत्व गरेका छन् र चालक दलले ल्हासास्थित गोङ्गर अन्तर्राष्ट्रिय विमानस्थलमा वैधता उडानका लागि तीन फरक फरक एप्रोचेज अपनाउनेछन् ।


परीक्षण उडानका लागि एअरलाइन्सले सन् २०२० को मार्च महिनामै विशेषतः माथिल्लो उचाइका लागि उडान भर्न एच ९ एजेके नाममा दर्ता भएको नवीनतम् न्यारोबडी जहाज ए३१९–११५ प्रयोगमा ल्याएको छ । एक सय २० इकोनोमी र ०८ बिजिनेस क्लास सिटको व्यवस्था भएको एयरक्राफ्टलाई माथिल्लो उचाइको उडान भर्नका लागि परिमार्जित गरिएको छ । यो जहाजले अधिकतम १४ हजार ५ सय फिटसम्मको एअरोड्रम उचाइ भएको ट्रान्स हिमालयन मार्गहरू सञ्चालन गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।

नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स्, अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायु सेवा कम्पनी हो । अहिले हिमालय एअरलाइन्स्ले अबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ्गमा उडान सेवा भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्