Logo
Logo

हत्यापछि आत्महत्याका श्रृङ्खला बढ्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ माघ । काठमाडौंको टोखास्थित ग्रिन भिल्ला हाउजीङमा बस्दै आएका एक दम्पत्तिको १० दिनअघि भएको मृत्युको घटनाको चर्चा सहरमा अझै सेलाएको छैन । सो घटनामा श्रीमानको हत्यापछि श्रीमतीले आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ । तर, घटनाका कतिपय पाटोहरु अझै अनुत्तरित छन् । अमेरिकामा व्यवसाय गरेर बस्दै आएका उमेश केसी र काठमाडौंमै बस्दै आएकी सुदीक्षा गिरीले ६ वर्षअघि प्रेम विवाह गरेका थिए । विवाहमा केसीको परिवारको सहमति थिएन । जसकारण उनीहरुले मन्दिरमा सामान्य तरिकाले बिहे गरेका थिए । परिवारको अवरोध तोडेर प्रेम सफल बनाए पनि दाम्पत्य जीवनका विवादलाई तोड्न सफल भएनन् । दाम्पत्य जीवनका विवाद नै उनीहरुको जीवनको असामान्य अन्त्यको कारण बन्न पुग्यो ।

योजनाबद्ध हत्या ?
प्रारम्भिक रुपमा श्रीमान–श्रीमतीबीच झगडा हुँदा आवेगमा सुदीक्षाले उमेशको हत्या गरेको अनुमान गरिएको थियो । तर, घटनास्थलको सिनले भने त्यो भन्दैन । योजनाबद्ध रुपमा नै सुदीक्षाले श्रीमानको हत्या गरेको देखिने अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् ।

यसको पहिलो कारण घटनास्थलमा कुनै संघर्ष देखिदैन । उमेशको टाउकोमा चोट छ । सिलौटाले हानेर उनको हत्या भएको छ । बेडमा सुतिरहेको अवस्थामा उनको शव छ । घटनास्थल पुगेका एक प्रहरीका अनुसार उमेशलाई सुतिरहेको वा निदाएकै अवस्थामा सुदीक्षाले सिलौटाले हानेको देखिन्छ । टाउकोमा त्यही गम्भीर चोटका कारण सुतेकै अवस्थामा उनको मृत्यु भयो । किचनबाट सिलौटो ल्याएर त्यसरी हान्नुले उनले योजना बनाएरै हत्या गरेको प्रहरी प्रष्ट हुन्छ ।

राति श्रीमानको हत्या गरेपछि भोलिपल्ट उनले आत्महत्या गरेकी थिइन्, झुन्डिएर । दुई जनाको मृत्युको समय करिब १० घन्टाको फरक देखिएको पोष्टमार्टम रिपोर्टमा देखिन्छ । फोन नउठेपछि सुदीक्षाकी दिदी शर्मिला भोलिपल्ट घरमा पुग्दा दुवै जनालाई मृत अवस्थामा भेटेकी थिइन् । तर, तत्काल उनले प्रहरीमा जानकारी दिइनन् । पछि अमेरिकामा रहेका एक पूर्व एसपीले साँझ मात्र प्रहरीलाई यसबारे जानकारी गराएको थियो । उमेश र सुदीक्षाबीचको विवादको कारणबारे प्रहरीले केही आँकलन गरेको छ । सुदीक्षा करिब डेढ महिनाकी गर्भवती थिइन् । विवादको कारण त्यही भएको अनुमान आफन्त र प्रहरीको छ । उमेशले आफ्नो स्वास्थ्यबारे बारम्बार परीक्षण गर्नु र त्यही बेला सुदीक्षा गर्भवती हुनुको विषयमा उनीहरुबीच विवाद भएको हुनसक्ने एक प्रहरी अधिकारी बताउँछन् ।

उमेश अमेरिका बस्दै आएका थिए । उनीसँग ग्रिनकार्ड पनि थियो । दशैं मनाउन नेपाल आएका उनी एक सातापछि फर्कदै थिए । उनीसँग ग्रिनकार्ड पनि थियो । जसअनुसार श्रीमतीलाई पनि लिएर जान सक्थे । तर, सम्बन्ध राम्रो नभएकाले नै सुदीक्षा नेपालमै बस्दै आएको प्रष्ट हुन्छ । सुदीक्षाले आत्महत्या गरेकाले घटनाको ठ्याक्कै कारण पत्ता लगाउन सकेको छैन । जसकारण यो घटना एक किसिमले रहस्यमै टुंगिनेछ ।

आत्महत्यापछि हत्याका श्रृङखला
हत्यापछि आत्महत्याका श्रृङखलामा विगतमा पनि भएका छन् । जसले ती घटनाका कारण रहस्यमै रहेका छन् । त्यसमध्ये एक हो गत वर्ष ललितपुरको सानेपा बस्दै आएका पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की र उनकै घरमा काम गर्ने विजय चौधरी मृत्युको घटना । जसमा विजयले मुनाको हत्या गरेर आफुले आत्महत्या गरेको निष्कर्ष प्रहरीको थियो । तर, कारण खुल्न सकेन । घरमा दुई जना मात्र भएको अवस्थामा यस्तो घटना भएको थियो । सिसिटिभीमा विजयले मुनाको हत्या गरेर आफुले झुन्डिएर आत्महत्या गरेको देखिएपनि कारण अझै दुवै मृतकका परिवारलाई थाहा छैन ।

गत भदौ २६ गते भक्तपुरको मध्यपुर थिमिमा यस्तै घटना भयो । परिवारका तीनै जना मृत भेटिएका थिए । ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया श्रीमती सम्झना र १६ वर्षीय छोरा सुशान्तको शव भेटिएको थियो । यो घटना पनि पनि रहस्यमै छ । किनकि, सुदीपले श्रीमती र छोराको हत्या गरेर आफुले आत्महत्या गरेको पाइएको थियो । ऋणको तनावका कारण यस्तो घटना भएको आफन्तको आँकलन थियो ।

२०७६ को जेठमा पाँचथरको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेमा अर्काे बिभत्स हत्या र आत्महत्या भएको थियो । एक युवकले ससुराली परिवारको ९ जनाको बिभत्स हत्या गरेका थिए । धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको थियो ।

हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको थियो ।

बमबहादुरका कान्छा ज्वाई मानबहादुर माखिमले यसरी बिभत्स हत्या गरेका हुन् । हत्यापछि केही वर आएर रुखमा झुन्डिएर उनले आत्महत्या गरेका थिए । श्रीमती माइत बसेको रिसमा उनले यसरी हत्या गरेको आँकलन गरिएको छ । उनी मानसिक रोगी थिए । डिप्रेसनको औषधी सेवन गर्दथे ।

प्रहरीको तथ्याङकअनुसार हत्यापछि आत्महत्याका अरु धेरै घटना छन् । गत जेठमा मात्र विराटनगरमा एक युवकले आमाको हत्या गरेर आत्महत्या गरेका थिए । बेलबारी नगरपालिका–४, काकुमका ३१ वर्षीय जीवन लिम्बूले आफ्नै आमाको हत्यापछि आत्महत्या गरेका थिए ।

खाना खाने क्रममा विवाद हुँदा आमालाई इँटाले टाउकोमा हानेर हत्या गरेका थिए । त्यसपछि घाँटी रेटेर आत्महत्या गरेका हुन् । लागूऔषध प्रयोगकर्ता लिम्बू मानसिक रोगी पनि थिए । २०७३ सालमा पोखराका सञ्जीवबहादुर नेपालीले हत्यापछि आत्महत्या गरेका थिए । पोखरा–८ चालिसे चोकमा खुकुरी प्रहार गरी नेपालीले पत्नी सोनम रेग्मीको हत्या गरेका थिए । साँझ ५ बजे पत्नीको हत्या गरेपछि विष सेवन गरेका नेपालीको उपचारकाका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको थियो ।

पारिवारीक विवाद, आर्थिक समस्या, विवाहेत्तर सम्बन्ध, अविश्वास तथा मानसिक रोगका कारण यस्ता घटना बढिरहेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । सुरुमा रिस तथा आवेगमा हत्या गर्ने र तत्कालै पश्चाताप गरेर अभियुक्तले आत्महत्या गर्ने गरेको हुनसक्ने प्रहरी अधिकारीको भनाई छ । नेपालमा मानसिक स्वास्थ्यको उपचार नहुँदा पनि यस्ता घटना बढेका छन् । खासगरी तनाव तथा डिप्रेसनमा गएका व्यक्तिबाट यस्ता घटना हुने गरेका छन् । नेपालमा ५० प्रतिशतभन्दा धेरै नागरिकमा कुन नै कुन प्रकारको मानसिक समस्या रहेको एक अध्ययनले देखाउँछ । पछिल्ला यी घटनाले समाजमा बढेको तनाव र अपराधिक मानसिकता प्रष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्