Logo

कोरिया भाषा परीक्षा शुल्कका लागि बैंक छनोटको सूचना नै अपारदर्शी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ माघ । बैदेशिक रोजगार विभागले कोरिया भाषा परीक्षाबापतको शुल्क लिनका लागि एउटामात्र बैंकलाई तोकेकाले परीक्षार्थीहरुलाई कठिनाई ब्यहोर्नुपरेको छ । विभागले कोरिया रोजगारीमा जानका लागि नेपाली युवाहरुले कोरियन भाषा परीक्षाका लागि बुझाउनुपर्ने २४ अमेरिकी डलर(२४ सय रुपैयाँ) ग्लोबल आइएमईमात्र बैंकबाट लिने ब्यवस्था गरेको छ । जसका कारण भाषा परीक्षा दिन चाहनेहरुलाई गाह्रो भएको र भीडभाड बढी हुने भएका कारण अरु बैकहरुबाट पनि कोरियन भाषा परीक्षाबापतको शुल्क बुझ्ने ब्यवस्था गर्नुपर्ने बिषयमा बैंकरहरुले छलफल गरेक थिए ।

महेशप्रसाद दाहाल र दिलीप चापागाई


बैदेशिक रोजगार विभागका महानिर्देशक दिलीप चापागाई, श्रम, रोगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल लगायतका अधिकारीहरुसँग बैंकरहरुले केही दिनअघि छलफल गरेका थिए । मन्त्रालयले भाषा परीक्षा लिन चाहनेहरुका लागि एउटैमात्र बैंक नतोकी अरु बैंकहरुबाट पनि लिनका लागि ब्यवस्था गर्न निर्देशन दियो ।

मन्त्रालयको निर्देशन अनुसार बैदेशिक रोजगार विभागका महानिर्देशक चापागाईले २०७५ माघ १२ गते शनिबार पारी १५ दिनको म्याद राखी परीक्षा शुल्क लिनका लागि विभागको इपीएस शाखामा सूचीकृत हुन सूचना निकाले । त्यो सूचना अनुसार माघ २७ भित्र बैंकहरुले इपीएस शाखामा सूचीकृत हुनुपर्ने छ । तर सूचना कामदारको हितमा नभएर घुमाईफिराई ग्लोबल बैंककै लाभ हुनेगरी निकाल्ने काम महानिर्देशक चापागाईले गरेका छन् । अरु बैंकमा परीक्षार्थीले जम्मा गरेको पैसा तत्कालै ती बैंकहरुले ग्लोबल बैंकमा जम्मा गर्नू भनेपछि कुनै पनि बैंकहरु सूचीकृत हुनका लागि जाने बाटो नै बन्द गरिएको छ ।


सम्बन्धित बैंकले डिपोजिट हुनासाथ (रियल टाइम डिपोजिट) ग्लोबल बैंकमा दाखिला हुनेगरी जम्मा हुने ब्यवस्था मिलाउनुपर्ने सर्त सूचनामा राखिएको छ । रियल टाइम डिपोजिट एउटा बैंकबाट अर्को बैंकमा गर्ने सिष्टम नै नेपालमा नभएको एक बैंकर बताउँछन् ।


विभागको रोजगार अनुमति प्रणाली(इपीएस) शाखाबाट निकालिएको सूचना अनुसार अरु बैंकहरु परीक्षार्थीले जम्मा गरेको रकम संकलन गरी ग्लोबल बैंकमा बुझाउने माध्यम मात्र बनाउन खोजेको देखिन्छ । ती बैंकरको प्रश्न छ–‘यसरी कामदारबाट रकम संकलन गरी ग्लोबल बैंकमा जम्मा गर्न कुन बैंक तयार हुन्छन् ?’ सिधै ग्लोबल बैंकमा बुझाउनुपर्नेमा अरु बैंकमा बुझाए पनि ग्लोबल बैंकमै रकम जम्मा हुने ब्यवस्था गर्ने भएपछि कुनै पनि बैंक सूचीकृत हुन जाने संभावना छैन ।


तरलता अभाव भएकाले बैंकहरुबीच निक्षेप तानातान हुने र कमिसनको खेल समेत हुने गरेका समाचार बारम्बार आउनु र कोरिया भाषाको परीक्षार्थीको शुल्क लिन कामदारलाई सहज बनाउनका लागि अरु बैंकबाट पनि बुझाउने ब्यवस्था गर्ने बैंकरहरुको मागमा बैदेशिक रोजगार विभागले हुँदै नभएको सिष्टम अनुसार गर्नेगरी सूचना निकाल्नुले त्यस्तो आशंकालाई पुष्टी गरेको छ ।
बैदेशिक रोजगार विभागका महानिर्देशक चापागाई ३ महिनाभित्र २०७६ बैशाख तेस्रो साता अवकाश हुँदैछन् । उनी विगतमा जनप्रतिनिधि नभएको समयमा विभिन्न जिल्लाको स्थानीय विकास अधिकारी(एलडीओ) भएर अकूत सम्पत्ति आर्जन गरी सहसचिव बढुवा भएपछि धनुषाको सीडीओ भएका थिए ।

धनुषामा पनि विमलेन्द्र निधिको संरक्षण प्राप्त जीवनाथ चौधरी नामक डनसँग मिलेर कानुन विपरीत संचालित अस्पतालदेखि तस्करहरुबाट लाभ लिएका थिए । उनलाई निधिले नै धनुषाको सीडीओ बनाएका थिए । एक बर्ष पनि जागिर अवधि नभएका तिनै चापागाईलाई श्रम मन्त्रालयले बैदेशिक रोजगार विभागको महानिर्देशक बनाएको थियो । एक बर्ष अवधि नभएका चापागाई जाने बेलामा असुलीमै रमाएका छन् । कोरिया भाषा परीक्षा दिन चाहनेहरुले एउटा बैंकमात्र हुँदा सास्ती पाएकाले अरुलाई पनि दिनुपर्ने कुरामा पनि उनले मन्त्रालयको सत्प्रयासलाई अवरोध पु¥याएका छन् ।

प्रतिक्रिया दिनुहोस्