Logo
Logo

उपत्यकाका विद्यालय आजबाट भौतिक रुपमै सञ्चालनमा आउने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ माघ । कोरोना भाईरस (कोभिड-१९) महामारीका कारण बन्द रहेको काठमाडौं उपत्यकाका विद्यालयहरु आजबाट सञ्चालनमा आउने भएका छन् ।

विश्व कोरोना महामारीले बन्द रहेको विद्यालय स्थानीय तहले स्वास्थ्य मापदण्ड अपनाएर १० महिनापछि खोल्न अनुमति दिएपछि सञ्चालनमा आउने भएका हुन् ।

काठमाडौं उपत्यकाका महानगरपालिका बाहेक अन्य नगरपालिकामा भने असार पछि नै भौतिक रुपमा विद्यालय खोलिएका छन् । काभ्रे, बनेपालगायत देशभरिका अन्य नगरपालिका र गाउँपालिकाले यसअवधिमा विद्यालय खोल्ने र संक्रमितको दर बढ्ने बित्तिकै बन्द गर्ने गरेका थिए ।

कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेकाले काठमाडौं उपत्यकामा वैकल्पिक माध्यममा पढाउन नसकिएको ठाउँमा कतै विद्यालय आलोपालो गरी खुलिरहेका थिए भने अधिकांश विद्यालय बन्द नै गरिएका थिए ।

अनलाइन वा वैकल्पिक माध्यमबाट पढाउन र उक्त माध्यमबाट पढाएको कुरालाई मान्यता दिन सरकारले असारमा निर्देशिका जारी गरेको थियो । पुस १ गतेदेखि नै कक्षा ११ र १२, स्नातक र स्नातकोत्तरका लागि विद्यालय र क्याम्पस अघोषित रुपमा सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्