Logo
Logo

कमल ह्यारिसः न्यायाधिवक्तादेखि विश्व शक्तिको उपराष्ट्रपतिसम्म


- दृष्टि न्युज/संवाददाता


अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति

न्यायक्षेत्रमा लामो अनुभव संगालेकी कमला ह्यारिस इतिहास रच्दै अमेरिकी उपराष्ट्रपति निर्वाचित भएकी छन् । उपराष्ट्रपतिको रुपमा महिला निर्वाचित भएको अमेरिकी इतिहास नै यो पहिलो हो । तर, ह्यारिसको सपना यति मात्र होइन, पहिलो राष्ट्रपति महिलाको रुपमा पनि इतिहास रच्ने उनको योजना छ ।

को हुन् कमला ह्यारिस ?
क्यालिफोर्नियामा जन्मिएकी कमला ह्यारिस भारतीय आमा श्यामला गोपालन र जमैकन बाबु डोनाल्ड जेस्पर ह्यारिसका सन्तान हुन । गर्भपतन र अश्वेत वर्णको अधिकारका लागि मुद्दा लड्दै आएकी ह्यारिसको अब भने जिम्मेवारी फेरिएको छ । अमेरिकी राजनीतिमा इतिहास रच्दै ह्यारिस उपराष्ट्रपति निर्वाचित भएर आफ्नो कार्यकाल सुरु गरेकी छन् ।

अमेरिकाका दुवै प्रमुख पार्टीले आजसम्म कुनै अश्वेत महिलालाई उपराष्ट्रपति पदका लागि उम्मेदवार बनाएको इतिहास नै थिएन । सन् २००८ मा रिपब्लिकन पार्टीले सारा पेलिनलाई आफ्नो पार्टीको तर्फबाट उम्मेदवार बनाएको थियो भने सन् १९८४ मा डेमोक्रेटिक पार्टीले गिराल्डिन फेरारोलाई उम्मेदवार बनाएको थियो । तर दुवैले चुनावमा हार व्यहोरे । यो क्रममा क्रमभंग गर्दै ह्यारिस निर्वाचित भइन । ५५ वर्षअघि ओकल्यान्डमा जन्मिएकी कमला सान्फ्रान्सिस्को र वासिङ्टनमा बसोबास गर्दै आएकी छिन् ।

सन् २०१६ मा सिनेटमा निर्वाचित उनले क्यालिफोर्नियाका पूर्वन्यायाधिवक्ता र सान्फ्रान्सिस्कोमा डिस्ट्रिक्ट एटोर्नीको जिम्मेवारीसमेत सम्हालिसकेकी छन् । उनले उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि शिक्षा, बन्दुक व्यवस्थापन (गन कन्ट्रोल), गर्भपतन र अन्य विषयमा आधारित भएर निर्णय लिने प्रतिवद्धता गरेकी छन् ।

ह्यारिसको सपना
कमला ह्यारिसको पनि बाइडेनको जस्तै राष्ट्रपति बन्ने सपना छ । यसपालि डेमोक्र्याटिक पार्टीको प्राइमरीमा उनले पनि बाइडेनसँग प्रतिस्पर्धा गरेकी थिइन । अर्को कार्यकालमा राष्ट्रपतिको उम्मेदवार बन्ने उनको सपना लगभग पुरा हुन सक्छ ।

७७ वर्षीय बाइडेन दोस्रो कार्यकालका लागि नउठ्ने सम्भावना रहेकाले उनका लागि राष्ट्रपतिको ढोका खुल्न सक्छ । तर, अमेरिकी जनतालाई उनले विश्वासमा लिन सक्नुपर्छ । यो कार्यकाल उनले नागरिक र पार्टीभित्रको मन जित्नै पर्नेछ ।

ह्यारिसका चुनौती
चुनावी नारा र अमेरिकी नागरिकसँग गरेको बाचा पूरा गर्न ह्यारिसलाई चुनौती छ । सपथ ग्रहणसँगै सुरु कार्यकालले उनलाई कसरी स्थापित गर्छ त्यो समयले बताउँला । वृद्ध भइसकेका बाइडेनलाई सही गन्तव्यमा डोहोर्याउने कार्यभार पनि उनकै काँधमा छ । बाइडेनलाई पनि सही रूपमा परिचालन गर्न उनले खेल्ने भूमिका नै मुख्य चुनौती हुन् ।

प्रतिक्रिया दिनुहोस्