Logo
Logo

७२ औं गणतन्त्र दिवस मनाउँदै भारत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ माघ । भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदै छ । गणतन्त्र दिवसको अवसरमा राजपथमा विशेष समारोह हुँदैछ । ५५ वर्षपछि पहिलोपटक प्रमुख अतिथिविना भारतले गणतन्त्र दिवस मनाउन लागेको हो ।

भारतको सैन्य शक्ति, बिभिन्न झाँकीसमेत प्रदर्शन हुने समारोहलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदीले दिवसको अवसरमा ट्वीट गरेर सम्पूर्ण देशवासीलाई बधाई दिएका छन् ।

२६ जनवरी १९५० मा भारतमा गणतन्त्र स्थापना भएको थियो । भारतको गणतन्त्र दिवसमा अघिल्ला वर्षहरुमा विदेशी विशिष्ट पाहुनालाई प्रमुख अतिथिको रुपमा सहभागी हुने गरिएको थियो । तर, यस वर्ष भने कोरोना महामारीका कारण कोही पनि विदेशी पाहुनालाई प्रमुख अतिथिको रुपमा बोलाइएको छैन ।

विगतमा लाल किल्लासम्म जाने गरेको परेड यस वर्ष विजय चोकदेखि राष्ट्रिय रंगशालासम्म मात्र जाने छ । परेडमा भारतका १७ राज्य केन्द्र शासित प्रदेशका झाँकी प्रदर्शन गरिने भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

सरकारले ल्याएको विवादित कृषि कानुनको विरोधमा आन्दोलनरत किसानहरुले गणतन्त्र दिवसको अवसर पारेर आज ट्याक्टर र्‍याली निकाल्दै छन् । यसकार राजधानी नयाँदिल्लीसहित भारतभर गणतन्त्र दिवसको अवसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा व्यवस्थामा थप कडाइ गरिनुको एक प्रमुख कारण भारतमा जारी किसान आन्दोलन पनि हो ।

कृषि कानुन किसान विरोधी भएकाले खारेज गर्नु पर्ने माग गर्दै महिनौंदेखि आन्दोलनरत भारतका किसानहरुको ट्याक्टर र्‍याली गणतन्त्र दिवसको समारोहपछि निस्किने भारतीय मिडियाहरुले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्