Logo
Logo

अलैँचीमा लगानी, बालुवामा पानी !


– दिलकुमार लिम्बू


ताप्लेजुङ, १३ माघ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ का खगेन्द्र लिम्बूले मलेसियाबाट नै गाउँको अलैँची बगानमा ८ लाखमा ८ वर्षका लागि बन्दकी लगाए । अहिले त्यही अलैँची बगानमा गरेको लागानीले पलपलमा पछुताउनु परेको छ ।

घरपरिवारको आर्थिक अवस्था कमजोर थियो । बिहानबेलुका हात मुख जोड्नका बुबाआमा सहित उहाँ खेताला जानुको विकल्प नै थिएन । खेताला गरी ल्याएको अन्नले साँझबिहान छाक टार्नुपर्थो । २०६४ सालमा लिम्बूले घरको आर्थिक अवस्था सुधार्ने सोचका साथ गाउँघर छोडे । उनले गाउँघरमात्र छोडेनन् नेपाल नै छोडेर मलेसिया पुगे ।

आफ्नै गाउँमा दुःख गर्ने लिम्बूलाई अरूको देशमा त्यति काम गर्न समस्या परेन । ‘परिश्रम गर्ने मान्छेले जता गए नि परिश्रम गनुमै आनन्द आउँछ ।’ मलेसिया पुगेको २ वर्ष पूरा भयो । दुःख गरेर कमाएको पैसा केमा लगानी गर्ने भन्ने मेसो पाएनन् । तराईको झापा, इटहरीतिर जग्गा किन्ने योजना बुन्नु थाल्नुभयो । त्यही समयमा नेपालमा अलैँचीको मूल्य ४० केजीको १ लाख २० हजार पुग्यो ।

अलैँचीको मूल्य सोचेकोभन्दा उच्च मूल्य आउँदा उनी निकै पछुताए । अब उहाँको एकमात्र सोच आयो । अरूको देशको माटोमा अमूल्य पसिना झार्नुभन्दा आफ्नै देशको माटोमा अलैँची खेती गर्ने । उनले भने ‘मैलै मलेसियामा कमाएको र साथीहरुसँग सापटी मागेर आठ लाखमा गाउँको अलैँची बगानमा बन्दकी लगाए ।’ विदेशमा गरेको मिहिनेतले आफ्नै गाउँमा सुन फलाउने सोचका साथ मलेसिया छोडेर घर फर्के । घर आएर अलैँची बगान विस्तार गर्नतिर लागे ।

गत वर्ष अलैँचीको याममा लिम्बूले पाँच मन सुक्का अलैँची उत्पादन गरे । दिनदिनै खेताला पाउन मुस्किल हुँदै गएको छ । खेतालाको ज्यालादर दिनप्रतिदिन बढ्दो छ । एक दिनको खेतालाको ज्याला दर ५०० देखि ८०० सम्म दिनुपर्ने लिम्बू बताउछन् ।
पाँच मन अलैँचीले एक लाख हाराहारी मात्र बिक्री गरेको लिम्बू बताउँछन् । अलैँची याम शुरुदेखि अन्तिमसम्म १ लाख ५० रुपैया भन्दा बढी पर्न आएको उनको भनाइ छ ।

५ वर्षअगाडि मलेसिया हुँदै ८ लाख लगानी गरेको पैसा अरु व्यवसायमा लागानी गरेको भए हुने रहेछ अलैँची बगानमा लागानी गरेकामा अहिले पछुताउनु परेको छ, लिम्बू भन्छन् । ‘गाउँघरमा ३६ प्रतिशले ब्याज दर प्रचलनमा तर मैले २४ प्रतिशतमा गाउँमा पैसामात्र ब्याजमा लगाए भने पनि एक वर्षमा १ लाख ९२ हजार रुपैयाँ आउँथ्यो ।’

लिम्बूमात्र होइन सोहीका विर्ख फेम्बूले वैदेशिक रोजगारीमा कमाएको पैसा पनि अलैँची बगानमा लगानी गरेका छन् । अलैँची म्रो भाउमा बिक्री हुँदै विदेशदेखि नै बगानमा लगानी गरेको तर अहिले बगान सफा गर्न पनि आफ्नै गोजीबाट पैसा निकाल्नुपर्ने भएको उनी बताउँछन् ।

त्यस्तै मेरिङदेन गाउँपालिका–६ का विमना लिम्बूले पनि अलैँचीको राम्रो मूल्य हुँदा गाउँ नजीकैको बगानमा लगानी गरे। तर अहिले अलैँचीको मूल्य राम्रो नहुँदा पछुताउनु परेको छ । यी तीन व्यक्ति प्रतिनिधिमात्र हुन् । एक लाख २० हजार अलैँचीको मूल्य पुग्दा अरू खेती छेडेर ताप्लेजुङका किसानले आफ्नो घरआँगन सबै खाली नराखी अलैँची बगान विस्तार गरेका थिए ।

प्रत्येक वर्ष अलैँचीको मूल्य ओरालोतिर लागेपछि अलैँची किसान निरासिँदै बगान मासेर अन्य खेतीपातीमा लागेको फक्ताङलुङ गाउँपालिका–६ का अलैँची कृषक सन्तकुमार फेम्बू बताउँछन् । एक पटक आएको एक लाख २० हजार अलैँचीको मूल्य कहिलै फर्केर आउन सकेन । खाडी मुलुकदेखि धेरै युवालाई त्यो समयको अलैँचीको मूल्यले गाउँ फर्कायो र बगान विस्तार भयो । अलैँचीको मूल्य अहिलेसम्म फेर्न सकेको छैन ।

विभिन्न राष्ट्रसँग अलैँची निर्यात हुने समाचारहरु कहिलेकाहीँ देखिए पनि काम भने नदेखिएको ताप्लेजुङ उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा अलैँची व्यापारी दिनेश अधिकारी बताउँछन् । अधिकारीका अनुसार अहिले ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा ४० केजी अर्थात् एक मन अलैँचीको मूल्य २४ हजारमा खरीदबिक्री भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्