Logo
Logo

युएईले अब विदेशी नागरिकलाई पनि नागरिकता दिने


- दृष्टि संवाददाता


काठमाडौं, १८ माघ । संयुक्त अरब इमिरेट्स (युएई)ले अब बिदेशी नागरिकलाई पनि नागरिकता प्रदान गर्ने भएको छ ।युएइले विख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने सरकारले घोषणा गरेको हो ।

कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि युएई सरकारले यस्तो घोषणा गरेको जनाएको छ ।

युएईका उपराष्ट्रपति एवम् दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले भनेका छन् लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार लगायतका काबिल व्यक्तिहरुलाई युएईको नागरिकता दिइने छ । विदेशी र उनका परिवारका सदस्यहरुले दोहोरो नागरिकता राख्न सक्ने उनले बताएको छ ।

यसबाट युएईको विकासको यात्रामा योगदान दिन सक्ने व्यक्तिहरुलाई आकर्षित गर्ने उद्देश्य राखिएको दुबईका शासक मकतुमको भनाई छ । अबुधाबीबाट प्रकाशित हुने अखबार द नेशनलका अनुसार यो नयाँ व्यवस्थाबाट खास क्षेत्रका विशेषज्ञ विदेशी नागरिकहरु लाभान्वित हुनेछन् ।

बीबीसीले उल्लेख गरे अनुसार युएईको नागरिकता पाउन अलग्गै आवेदन दिनुपर्दैन । युएईको शाही परिवार र सरकारी अधिकारीहरुले कुनै विदेशी नागरिकलाई नागरिकता दिनका लागि नामावली तयार पार्नेछन् । ती नामावलीलाई स्वीकृत गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय मन्त्रिपरिषदले गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्