Logo
Logo

नख्खु कारागारमा २ सय ६० कैदी मानसिक रोगी


- दृष्टि संवाददाता


ललितपुर, २३ माघ । नख्खु कारागारमा रहेका १५ सयभन्दा बढी कैदीमध्ये २ सय ६० जना मानसिक रोगी रहेका छन् । उनीहरुमा सामान्यदेखि जटिल मानसिक रोगका समस्या रहेको कारागार प्रशासनले जानकारी दिएको छ ।

कार्यालय प्रमुख मोहन अधिकारीले कैदीबन्दीको स्वास्थ्यलाई मध्यनजर गरी महिनाको तीनपटक कारागारमै उपचार सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको जानकारी दिए ।

 

उनले जटिल मानसिक समस्या भएका कैदीबन्दीलाई मानसिक अस्पताल लगनखेलमा उपचार गराउने गरेको पनि बताए । अहिले एक जना मानसिक अस्पतालमै भर्ना भएर उपचार गराइरहेका छन। ती रोगका बिरामीको उपचारका लागि कारागारभित्र ‘मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल’ भवनको निर्माण सम्पन्न भइसकेको छ ।

तर आवश्यक चिकित्सक र सरसामनको व्यवस्था नहुँदा ती भवनबाट सेवा उपलब्ध गराउन नसकेको प्रमुख अधिकारीको भनाइ छ । ‘कारागार नजिकै मानसिक अस्पताल लगनखेल रहेको हुँदा विभिन्न जिल्लाका कारागारमा रहेका मानसिक रोगी कैदीबन्दीलाई कारागार व्यवस्थापन विभागले यहाँ सरुवा गरी पठाउँछ’, उनले भने, ‘सरकारी अस्पतालमा उपचार गर्न जाने जुनसुकै रोगका कैदीबन्दीले निःशुल्क उपचार पाउँछन् भने निजी अस्पतालमा उपचार गर्न इच्छा देखाउने कैदीबन्दीले आफ्नो खर्च आफैँ व्यहोर्नुपर्छ ।’

कारागारभित्रका बन्दी अस्पतालमा १५ शैया रहने क्षमता भए पनि २० शैया राखिने भएको उनको भनाइ छ । नेपालमा मानसिक रोग अध्ययन र उपचार गर्ने चिकित्सक सङ्ख्या कम रहेको हुँदा कारागारमा आवश्यक पर्ने १० औँ तहको चिकित्सकको व्यवस्था हुन सकेको छैन । सो कारागारमा कैदीबन्दी राख्न तीन ब्लक भवनको व्यवस्था गरिएको छ ।

त्यस्तै कारागारको बहिरङ्ग सेवामा दैनिक तीन चिकित्सकले लगभग ३० देखि ४० कैदीबन्दीलाई उपचार सेवा दिने गरेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्