Logo
Logo

ताराकेश्वरमा देखिएको बर्डफ्लु नियन्त्रणमा


- दृष्टि संवाददाता


काठमाडौं, २३ माघ । काठमाडौँको तारकेश्वर नगरपालिकामा देखिएको बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आएको छ । माघ १६ गते तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसमा देखिएको फ्लु नियन्त्रणमा आएको हो ।

सङ्क्रमण देखिएपछि अन्यत्र फैलन नदिन थप सतर्कता अपनाएको र हाल उक्त सङ्क्रमण नियमन्त्रणमा आइसकेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरे सङ्क्रमण देखिएका क्षेत्र वरपरका पशु नष्ट गरी सो क्षेत्रलाई सुरक्षित गर्ने काम गरिएको बताए ।

रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएपछि उक्त क्षेत्रमा रहेका करिब दुई हजार ३ सय वटा घरपालुवा पंक्षी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरेको थियो । एक हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरेको थियो ।

पशु सेवा विभागले रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन सङ्घ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्