Logo
Logo

महोत्तरीको बर्दिवासमा मेडिकलको मनपरी, नागरिकको स्वास्थ्यमा खेलबाड


दृष्टि संवाददाता



महोत्तरी, २७ माघ । स्थानीय सरकार संचालन ऐन २०७४ को कार्य विस्तृतीकरणका आधारमा स्थानीय तहमा स्वास्थ्य संस्था दर्ता, संचालन अनुमति तथा नवीकरण सम्बन्धी निर्देशिका–२०७४ लागु भएको छ ।

आमनागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थय सेवा प्रदान गर्न कार्यविधि नै बनाइएको छ । तर, कार्यविधिभन्दा बाहिर गएर खुलेका यस्ता क्लिनिक अहिले टाउको दुखाई बनेका छन् । शुल्क महंगो लिने तर गुणस्तरीय उपचार सेवा दिन नसक्ने समस्याले बिरामी मर्कामा परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशिकाले औषधि पसल, क्लिनिकको काम, कर्तव्य र अधिकार व्याख्या गरेको छ । सर्वसुलभ मुल्यमा औषधि पसलले औषधि विक्री गर्नुपर्छ । क्लिनिकले स्वास्थ्य मापदण्ड पूरा गरेर गुणस्तरीय उपचार सेना प्रदान गर्नुपर्छ ।  तर, महोत्तरीको बर्दिवास नगरपालिकाका क्लिनिकले भने चरम लापरवाही गरिरहेका छन् ।

मेडिकल सम्बन्धी औपचारिक अध्ययन नै नगरेकाले विशेषता मिलेकै भरमा रोग घोषणा गरी नियम विपरित संचालन गरिएको प्रयोगशालामा उपचार गरिरहेको भेटिन्छ । छाप्रोहरुमा पनि मेडिकल खुलेका छन् । न त मेडिकल सम्बन्धी कुनै ज्ञान न त पढाई नै ! पैसा कमाउने एक मात्र उद्देश्यमा खुलेका यस्ता क्लिनिकबाट नागरिकको स्वास्थ्यमा खेलवाड भइरहेको छ ।

नगरपालिकामा एउटा मात्र सरकारी अस्पताल छ । जहाँ दरबन्दीका चार जना डाक्टर र तीन जना करार सहित ७ जना मात्र कार्यरत छन् । स्वास्थ्यकर्मी पर्याप्त हुँदा सरकारी अस्पतालमा राम्रो सेवा छैन ।

सरकारी अस्पतालले राम्रो सेवा दिन नसक्दा विरामी मापदण्ड विपरीत खुलेका स्वास्थ्यकेन्द्र जान बाध्य छन् । सरकारी अस्पतालले राम्रो सेवा दिन नसकेको उपभोक्ताबाट गुनासो आइरहँदा बर्दिवास अस्पताल भने नागरिकले भने जस्तो समस्या नभएको दावी गर्छ ।

यस्ता स्वास्थ्यकेन्द्र अनुगमन गरेर कारवाही गर्न स्थानीयले माग गरेका छन् । स्थानीयको चरम गुनासोपछि बल्ल यस्ता स्वास्थ्य केन्द्रको अनुगमन गर्ने नगरपालिकाले तयारी गरेको छ ।

स्वास्थ्य जस्तो संवेदनशील विषयमा हेलचेक्र्याइ गरेर जनताको मौलिक हक नै हनन हुने अवस्था सिर्जना भए पनि सम्बन्धित निकाय बेखबर जस्तै बन्नु दुखद रहेको स्थानीय अधिकारकर्मी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्