Logo
Logo

महिला राष्ट्रिय फुटबल टोलीलाई इटहरीमा बन्द प्रशिक्षण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ च्याम्पियनशीप फुटबलको तयारीमा रहेको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण मंगलबारदेखि सुनसरीको इटहरीमा शुरु गर्ने भएको छ ।
नेपालले उक्त प्रतियोगिता आगामी फागुन २७ गतेदेखि चैत ७ गतेसम्म विराटनगरमा आयोजना गर्दैछ । एन्फा प्रवक्ता किरण राईका अनुसार शनिबार भारतमा सम्पन्न हिरो गोल्डकप फुटबलको उपविजेता बनेको नेपाल आज स्थलमार्गबाट झापा हुँदै इटहरी आउने र मङ्गलबारदेखि बन्द प्रशिक्षण शुरु हुनेछ ।
भारतको भुवनेश्वरमा भएको प्रतियोगितामा नेपालले भारत र इरान जस्ता बलिया टोलीलाई पराजित गर्दै फाइनल खेलेको थियो । साफलाई लक्षित गर्दै नेपाल फर्किएलगत्तै महिला टोलीलाई बन्द प्रशिक्षणमा राख्न लागिएको प्रवक्ता राईले जानकारी दिनुभयो । बन्द प्रशिक्षणकै क्रममा साफ खेल्ने अन्तिम टोलीको नामावली सार्वजनिक गरिनेछ । राष्ट्रिय टिममा अहिले २३ खेलाडीलाई समावेश गरिएको छ ।
साफका लागि अन्तिम २० सदस्यीय टोलीको घोषणा हुनेछ । ‘इटहरीमा बन्द प्रशिक्षण गर्दा त्यहाँको मौसममा ‘फिट’ हुन सजिलो हुन्छ’, प्रवक्ता राईले भने । यसअघि उक्त प्रतियोगिता श्रीलंकाले आयोजना गर्ने निर्णय भएकोमा श्रीलंकामा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण प्रतियोगिता गर्न नसक्ने जनाएपछि दक्षिण एशियाली फुटबल महासंघ (साफ)ले निर्धा्रित समयभन्दा एक महीनापछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको हो ।

घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य राखेको नेपाली महिला टोली हरि खड्काको प्रशिक्षण तथा निरु थापाको कप्तानीमा रहेको छ । यसघिका संस्करणमा नेपाल उपविजेतासम्म बनेको छ ।

प्रतिक्रिया दिनुहोस्