Logo
Logo

मसाज गर्ने अनौठो तरिका !


दृष्टि संवाददाता


ताइवान – ताइवानको मसाज पार्लरमा चक्कुले मानिसहरुको मसाज गराइँदै आएको छ । यसरी चक्कुबाट मसाज गर्ने विधिलाई ‘डाउलियाओ’ भनिने बताईएको छ । यसको अर्थ ‘चक्कुबाट मसाज’ अर्थात् ‘नाइफ थेरापी’ भन्ने हुन्छ । यो चिनियाँ औषधि विज्ञानमा नकै चर्चित छ ।

चक्कुबाट मसाज गराउने चलन करिब दुई हजार वर्ष पुरानो हो । यसको सुरुआत बौद्ध भिक्षुहरुले गरेका थिए । एक हजार वर्षपहिले तांग वंशको जमानामा यो थेरापीको प्रयोग जापानमा पनि उल्लेख्य मात्रामा हुन्थ्यो । सन् १९४० को दशकमा चीनको गृहयुद्धको क्रममा चक्कुबाट गरिने मसाजको यो परम्परा ताइवान पुगेको थियो । यद्यपि अहिले जापान र चीनमा भने यस्तो मसाज करिब लोप भइसकेको छ ।

ताइवानमा भने अझै पनि यस्तो मसाज निकै लोकप्रिय छ । ताइवानको राजधानी ताइपेइमा यो थेरापी सिकाउन एक एजुकेसन सेन्टर खोलिएको छ । यसको नाम हो – द एनशिएन्ट आर्ट अफ नाइफ मसाज डाओलियाओ आई–जिङ एजुकेसन सेन्टर । समग्र ताइवानमा यो एजुकेसन सेटरको ३६ ओटा शाखा छ । यसमध्ये १५ शाखा पछिल्लो पाँच वर्षमा खोलिएको हो । यी एजुकेसन सेन्टरहरुमा चक्कुबाट मसाज गर्ने तरिका सिकाइन्छ । फ्रान्स, क्यानडा, हङकङ र जापानबाट पनि मानिसहरु यो थेरापी सिक्न ताइवान आउँछन् ।

यस्ता विधिबाट गरिएको मसाजका फाइदा
यस्तो मसाजको प्रयोग घाउ निको पार्न, निद्रा राम्रो बनाउन र शरीरको दुखाइ कम गर्नका लागि गरिन्छ । चिनियाँ औषधि विज्ञानमा हुने अक्युप्रेसर थेरापीमा जस्तै नाइफ थेरापीमा पनि प्रेसर प्वइन्टलाई लक्षित गरिन्छ । यसलाई क्युआई–डोर्स भनिन्छ ।

ताइवानको यस्तै एक मसाज सेन्टरकी निर्देशक हसिआओ मेई फेङले आजभन्दा १५ वर्षपहिले मसाजको संसारमा कदम राखेकी थिइन् । यसभन्दा पहिला उनी ब्युटि ट्रिटमेन्ट र मेरेडियन मसाज गर्थिन् । मेरेडियन पनि एक पारम्परिक चिनियाँ औषधि विज्ञानमा गरिने मसाज हो ।

फेङका अनुसार दिनभर मेरेडियन मसाज गर्दा उनी थकित हुन्थिन् । मसाजको क्रममा उत्पन्न हुने नकारात्मक ऊर्जाले उनीमा नराम्रो असर पनि पारिरहेको थियो । तर, नाइफ थेरापी सुरु गरेपछि भने अहिले उनलाई त्यस्तो समस्या छ्रैन ।

नाइफ थेरापीमा केही नियम भने पालना गर्नु जरुरी हुन्छ । उदाहरणको लागि मसाज गर्नेको मुड राम्रो छैन भने उसलाई चक्कु दिनु हुँदैन । यस्तोमा मसाज गर्नेको नकारात्मक ऊर्जा मसाज लिने मानिसमा पर्ने मानिँदै आएको छ ।

चक्कुबाट मसाज गर्नेले सधैं सकारात्मक ऊर्जाका साथ काम गर्नुपर्छ । यसका लागि उनीहरुले शुद्ध शाकाहारी भोजन सेवन गर्नुपर्छ । मेई फेङ आफ्नो टोलीसँग प्रत्येक दिन बिहान पाँच बजे उठ्छिन् । साथै आफ्नो क्युआई पाउन ३० मिनेट चक्कुयुद्धको अभ्यास गर्छिन् ।

मेई फेङका ग्राहकहरु आफ्ना बच्चालाई पनि आफूसँगै ल्याउँछन् । बालबालिकाहरु पार्लरमा लौरोका साना डण्डीहरु खेल्छन् जसबाट उनीहरुको स्कुलको तनाव कम हुन्छ । फेङका अनुसार उनको संस्कृतिमा क्युआई सबैभन्दा महत्वपूर्ण कुरा हो । मानिसको ऊर्जामा सन्तुलन छ भने मानिसले आफ्नो काम सही तरिकाले गर्न सक्छ । फेङकोमा धेरै मानिस आफ्नो जीवनको उद्देश्य खोजी गर्न पनि आउँछन् ।

यो काम फेङ एक कम्पासका साथै एक सानो बोर्डको सहयोगमा गर्छिन् । यो बोर्ड चिनियाँ प्रचीन परम्परामा आधारित छ । यसलाई आई–चिङ वा बुक अफ चेन्ज पनि भनिन्छ । फेङ भन्छिन्, ‘यो बोर्डले मेरो लागि गुगलको काम गर्छ । म आफ्ना ग्राहकको सबै जानकारी यो बोर्डमा राख्छु र मलाई उसको अतीत वर्तमान र भविष्य सबै थाहा हुन्छ । यसको सहयोगमा म आफ्ना ग्राहकहरुलाई राम्रो सुझाव दिन सक्छु ।’ फेङका अनुसार नाइफ थेरापीको जादुयी असरको विषयमा कसैलाई पनि बुझाउनुपर्ने आवश्यकता छैन । एकपटक चक्कुबाट मसाज लिएपछि जो कोहीले पनि यसलाई छाड्न सक्दैनन् । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्