Logo
Logo

फागुन २३ देखि ५५ वर्ष माथिका व्यक्तिलाई कोरोना विरुद्धको खोप


दृष्टि संवाददाता


काठमाडौं, ९ फागुन । सरकारले भारतसँग खरिद गरेर आइतबार नेपाल ल्याएको कोरोना भाइरसविरुद्धको खोप समुदायस्तरमा लगाउने मिति तय गरेको छ ।

आइतबार ल्याइएको खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरेर फागुन २३ बाट दोस्रो चरणको खोप लगाउन सुरु गर्ने भएको हो ।

दोस्रो चरणको खोप अभियान अन्तर्गत पहिलो चरणमा ५५ वर्ष उमेर भन्दा माथिका व्यक्तिलाई दिइने छ । दोस्रो चरणमा नै विद्यालयका प्राध्यापक, शिक्षण तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई समेत खोप लगाउन आवश्यक तयारी तथा व्यवस्थापन गर्ने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले आगागी मार्चसम्म सबै लक्षित समूहलाई सन् २०२१ को जुनसम्म खोप दिइसक्ने लक्ष्य रहेको बताएका छन् ।

सरकारले कुल जनसंख्याको ७० प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ। नेपालमा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको थियो ।

यसअघि फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, कारागारका कर्मचारी, कैदी, सफाइकर्मी, पत्रकार, राजदूतावासका कर्मचारीहरु र यूएन एजेन्सीमा कार्यरत कर्मचारीलाई खोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्