Logo
Logo

काेराेना बढेसँगै भारतकाे महाराष्ट्रकाे नासिकमा रात्रिकालिन कर्फ्यू


दृष्टि संवाददाता


भारत, ९ फागुन । भारतको महाराष्ट्र राज्यमा कोरोना भाइरसको संक्रमण बढेसँगै नासिकमा राति ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि रात्रिकालिन कर्फ्यू लगाइएको छ ।

खाद्य र नागरिक आपूर्ति, उपभोक्ता मामिला मन्त्री छागन भुजबालले सोमबारदेखि लागु हुने गरि रात्रिकालिन कर्फ्यू लगाइएको बताएका हुन् ।

यद्यपि दुध, अखबार, अस्पताल सेवाहरू जस्ता अत्यावश्यक सेवाहरू भने यसमा नपर्ने बताइएको छ । यस्तै, महिनाको अन्त्यमा थप समीक्षा हुने बताइएको छ । उता, जिल्ला कलेक्टर जितेन्द्र पापलकरले अकोला, मूर्तिजापुर र अकोटमा फेब्रुअरी २३ देखि मार्च १ सम्म लकडाउनको घोषणा गरेका छन् ।

यता, ओडिशा सरकारले कोभिड १९ को सुरक्षा मार्गनिर्देशनहरूको कडा कार्यान्वयन सुनिश्चित गर्न सबै जिल्ला कलेक्टरहरूलाई निर्देशन दिएको छ ।

भारतमा केही दिनयता ६ राज्यमा संक्रमित बढेपछि कोरोनाको दोस्रो लहर आउनसक्ने  चिन्ता देखिएको छ । पछिल्लो समय पुष्टि भएका संक्रमितमा नयाँ भेरियन्ट पनि देखिएको छ। जुन यसअघि बेलायतमा देखिएको थियो। संक्रमितको संख्या फेरि बढ्नु र नयाँ भेरियन्ट देखिँदा भारतमा दोस्रो लहर आउनसक्ने विज्ञहरूले अनुमान गरेका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, निको हुनेभन्दा संक्रमितको संख्या बढी हुन थालेको छ। शनिबार १३ हजार ९ सय १९ संक्रमित थपिए भने ११ हजार ४ सय १२ जना निको भए। जब कि केही दिनअघिसम्म नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी थियो।

संक्रमण बढ्दै गएका ६ राज्यमा महाराष्ट्र, केरल, मध्यप्रदेश, गुजरात, राजस्थान र दिल्ली छन्। अहिलेसम्म भारतमा संक्रमितको संख्या एक करोड नौ लाख ९१ हजार पुगेको छ। जसमध्ये एक करोड ६ लाख निको भएका छन् भने एक लाख ५६ हजार ३ सय ३९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्