
भारत, १० फागुन । भारतमा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुनः देखिन थालेको छ । भारतको महाराष्ट्र राज्यमा कोरोना संक्रमण बढ्न थालेपछि आज (सोमबार) देखि राजनीतिक, धार्मिक तथा सामाजिक कार्यक्रम गर्न रोक समेत लगाइएको छ ।
आइतबार टीभीमार्फत नागरिकलाई सम्बोधन गर्दै महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले केही दिनसम्म भीडभाड हुने कुनै पनि कार्यक्रम गर्न नपाइनेगरी प्रतिबन्ध घोषणा गरेका हुन्।
उनले भने, ‘राज्यमा महामारीले फेरि टाउको उठाइरहेको छ, यो कोरोनाको दोस्रो लहर हो कि ? ८ देखि १५ दिनभित्र पत्ता लाग्नेछ।’ लकडाउन समाधान नभए पनि कोरोनाको चक्र रोक्ने एक मात्र उपाय भएको उनको भनाई छ । राज्यले लागू गरेको नियम उल्लंघन गर्नेलाई सजाय दिइने समेत उनले चेतावनी दिएका छन् ।














