Logo
Logo

रानीमहलको अस्तित्व गुम्ने खतरा


राजेशकुमार अर्याल


तस्वीर : अशाेकमान सिंह

पाल्पा । पाल्पाको रानीघाट दरबार (रानीमहल)बारे थाहा नपाएका सायदै होलान् । कालीगण्डकी नदीको किनारमा रहेको सुन्दर रानीमहलको इतिहास पनि धेरैले पढेका छन् ।

नेपालको ‘ताजमहल’ समेत भन्ने गरिएको रानीमहल दरबारलाई प्रेमको प्रतीक समेत मान्ने गरिन्छ । कालीगण्डकी नदीको किनारमा उत्तरी मोहडामा बनाइएको ऐतिहासिक दरबारमा आकर्षक कलाकृति देख्न पाइन्छ ।

पाल्पा गौंडाका तैनाथवाला जनरल खड्ग शमशेरले दिवंगत रानी तेजकुमारीको सम्झनामा विसं १९४९ मा निर्माण सुरु गरेको यो दरबार १९५४ मा सम्पन्न भएको थियो ।

राजा खड्ग शमशेरले रानीको सम्झना र मायामा बनाएको दरबार भएकाले यो दरवारलाई राजा खड्ग शमशेर र रानी तेजकुमारीको प्रेमको प्रतीक मानिन्छ । त्यसैले आजकलका प्रेमी/प्रेमिका कुनै न कुनै दिन रानीमहल पुग्ने संकल्प गर्छन् । तर, यही ऐतिहासिक रानीमहलमा बक्रदृष्टि परेको छ ।

रानीमहललाई होटल बनाएर पैसा कमाउने दाउ

नेपाल पर्यटन बोर्डले रानीमहललाई ‘हेरिटेज होटल’ बनाउन सरकारलार्ई प्रस्ताव गरेको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले आफ्नो एक वर्षे कार्यकालको उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमार्फत रानीमहलको उपयोगका लागि ‘हेरिटेज होटल’ बनाउन सरकारलाई सुझाव दिएको बताएका छन् ।

प्रमुख कार्यकारी अधिकृत डा. रेग्मी भन्छन्– ‘रानीमहल एकपटक रंगरोगन गर्दा ३०/४० लाख लाग्छ, मर्मतसम्भार गर्न करोडभन्दा बढी लाग्छ । पछाडि पहिरो गएको छ । पार्किङ स्थल छैन । हेर्न गएका मानिस गाली गरेर फर्किरहेको छ । यस्तो अवस्थामा राख्नुभन्दा उपयोग र संरक्षणको नीति बनाउनु पर्छ भन्ने हाम्रो चाहना हो ।’

पर्यटन बोर्डका प्रमखु कार्यकारी अधिकृतले नै रानीमहललाई होटल बनाउने प्रस्ताव राखेपछि विरोध सुरु भएको छ । त्यसो त रानीमहललाई व्यापारिक केन्द्र बनाउने सवालमा संरक्षण र विकासको जिम्मा पाएको तानसेन नगरपालिकाले पनि पहिले नै काम थालिसकेको थियो ।

नगरपालिकाले २०७७ माघ १० मा ललितपुरको प्राइम एक्सेस प्रा.लि.सँग रानीमहल सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सम्झौता गरेको थियो । हाल, नगरपालिका सम्बन्धित पक्षबाट रानीमहल सञ्चालन र व्यवस्थापनको कार्ययोजना पर्खिरहेको छ ।

रानीमहल संरक्षण र उपयोग सम्बन्धमा विस्तृत परियोजना निर्माण गरी सार्वजनिक निजी साझेदारी अन्तर्गत जाने निर्णय गरि सकिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही बताउँछन् ।

तर, नगरपालिका भने रानीमहललाई होटल नै बनाउने पक्षमा भने छैन । रानीमहलको पर्यटकीय आकर्षणका लागि विभिन्न योजना बनाउने र परिसरसँग जोडिएको २ सय रोपनी जग्गामा रानीमहललाई असर नपर्ने गरी ‘न्यू क्लासिकल’ शैलीका होटलहरु बनाउन सकिने प्रस्ताव गरिएको नगरप्रमुख शाहीको भनाइ छ ।

नगर प्रमुख शाहीले भने,‘रानीमहलको दरबार संरचनामा नै होटल बनाउने पक्षमा हामी छैनौं । माथिबाटै निर्णय गरेको भए भन्न सक्दिन ।’

रानीमहललाई होटल बनाउन नहुने विज्ञको मत

पुरानो भवन मात्र नभएर ऐतिहासिकता जोडिएको दरबार भएकाले रानीमहलमा होटल बनाउन दिन नहुने पर्यटनविज्ञ मनमोहन श्रेष्ठको मत छ । लुम्बिनी प्रदेशकै महत्वपूर्ण ‘आइकन’को रुपमा रहेको रानीमहललाई उपयोग गर्ने भन्दै व्यावसायिक प्रयोजनमा होटल राख्न दिन नहुने उनको तर्क छ ।

सम्पदाको महत्व र ऐतिहासिकतालाई आधार बनाएर मात्र रानीमहलको उपयोग, संरक्षण र विकासको योजना बनाउनुपर्ने इतिहासविद् निर्मल श्रेष्ठ बताउँछन् । उनी भन्छन्– ‘रानीमहलमा संग्रहालय बनाउन सकिन्छ तर होटल बनाउन सकिन्न ।’

पर्यटकीय गन्तव्य रानीमहललाई केन्द्र बनाएर पाल्पामा होटल खोल्न सकिने तर रानीमहलमै होटल सञ्चालन गर्न नहुने होटल व्यवसायी संघ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठले बताए ।

 

प्रतिक्रिया दिनुहोस्