Logo
Logo
समाज

अभियन्ताको नाममा अराजकता


नवीन राई


केही समययता धेरै मानिस आफूलाई ‘सामाजिक अभियन्ता’ वा ‘समाजसेवी’ भनेर सामाजिक सञ्जालमा छाइरहेका छन् । सामाजिक संजालको बढ्दो पहुँचसँगै आफूलाई ‘सामाजिक अभियन्ता’ घोषित गरिरहेका छन् ।

जब–जब देशमा विपत्ति आइलाग्छ तबतब भेलबाढीजस्तै उर्लेर आउँछन्, ती अभियन्ता । खाशमा अभियन्ता भनेको के हो ? अभियन्ता कसलाई भनिन्छ ? समाजसँग अभियन्ताको कस्तो सम्बन्ध हुन्छ ? त्योे उनीहरूले सायदै बुझेका होलान् ।

भूकम्पको बेला होस् या कोरोना महामारी नै किन नहोस्, ‘समाजसेवाको खेती’ मौलायो । २०७२ को भूकम्पले सर्वसाधारणको घर भत्कँदा धेरै अभियन्ताले महल ठड्याए । कोरोना महामारीको बेला अरूको भोकोपेट देखाएर जीवनभर आफूलाई पुग्ने कमाए ।

अभियन्ता, समाजसेवीको नाममा पीडितलाई देखाएर ठूलो हिस्साले आफ्नै गोजी भरे । अरूको गोजीको पैसा मागेर ‘समाजसेवी’ बनेकाहरू अनगिन्ति भेटिन्छन् ।

पीडितका पीडासामु केही रुपैयाँको ‘राहत’ बोकेर गलाभरिको माला हल्लाउँदै झुल्किन्छन् । र, फेसबुकमा फोटो राख्दै आफैँ भन्छन्, ‘मजस्तो समाजसेवी अरू को होला ?’ यस्ता अभियन्ताले केही समय निकै चर्चा पनि पाउछन् । एकाएक उदाउने यस्ता अभियन्ताको पर्दा खुल्दै गएपछि विवादको विषय बन्छन् ।

यस्तै चर्चामा आउने अभियन्ता हुन् सावित्री सुवेदी । २०७५ भदौ २ गते पेटीकोट लगाएर माइतीघरमा प्रदर्शन गरेपछि चर्चामा आइन् । त्यसपछि नारीका पक्षमा वकालत गर्दै आएकी उनै सावित्रीले आफ्नै बुवा–आमालाई मुद्दा हाली पाँच लाख लिएको खुलासा भएपछि विवादमा तानिएकी थिइन् ।

महिला अधिकारको पक्षमा बोल्न सिन्धुली पुगेकी सावित्रीलाई २०७५ फागुन ४ गते त्यहाँको स्थानीयले लेखेटेका थिए । स्थानीयले प्रहरी कार्यालय सिन्धुलीमा घेराउ गरेर उनीविरुद्ध चर्को नारा लगाए । अर्का सामाजिक सञ्जालमा भाइरले हुन् पात्र ज्ञानेन्द्र शाही ।

जसको खास नाम ज्ञानबहादुर शाही हो । उनले सुरुमा आफूलाई भ्रष्टाचार विरोधी नागरिक अभियन्ता भन्ने गरे । उनी विभिन्न कारण बेला–बेला विवादित बन्दै आएका छन् । उनले मन्त्रीदेखि कर्मचारीसम्मलाई दुव्र्यवहार गर्दै आएका छन् । गत माग १९ गते शाही समूहले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेका थिए ।

आफ्नो कार्यक्रममा पत्रकार नआएको भन्दै पत्रकारलाई गालीगलौजसमेत गर्न भ्याएका थिए । २०७६ वैशाख १८ गते सुर्खेतमा आयोजित आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै कर्णालीका पत्रकारलाई ‘दलाल र कुकुर’ भनेका थिए ।

२०७६ भदैमा पनि शाहीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि नेपालगन्जमा दुव्र्यवहार र हातपात प्रयाससम्म गरे । शाही र उनका समर्थकले जहाज ढिलो गरेको भन्दै पर्यटनमन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गरेका थिए ।

फेरि अभियन्ताको मुखण्डोमा पुष्पा अधिकारी देखापरे । २०७६ साउन १३ गते कपनस्थित आकाशेधारा नजिकै चौरमा एक शिशु भेटियो । चार÷पाँच दिने शिशुलाई कार्टुनमा कपडाले बेरेर राखिएको थियो ।

नजिकै रहेको ‘केयर बालगृह’का बालबालिका खेल्न गएका बेला ती शिशुलाई देखे । गृहकी सञ्चालिका पुष्पा अधिकारीले बालिकालाई लिएर आफ्नो संरक्षणमा राखिन् । बेवारिसे भेटाएको भन्दै उनीहरूले शिशुको नाम नै ‘प्राप्ती अधिकारी’ राखिदिए ।

बेवारिसे फेला परेकी शिशुलाई युट्युबरको आडमा एकाएक भाइरल बनाइयो । त्यसपछि लत्ताकपडादेखि आर्थिक सहयोग गर्नेको भीड लाग्न थाल्यो । शिशुको आमा सम्पर्कमा आएपछि सबै नाटक रहेको खुलासा भएको थियो ।

केही समय अगाडि बिसीसीले विनयजंग र सपनालाई चर्चाको शिखरमा पुर्यायो । बीबीसीको ‘सय प्रभावशाली महिला’मा छानिएकी सपना रोका मगर र बेवारिसे शव व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेत सामाजिक अभियन्ताको रुपमा चिन्छिन् ।

सपना बीबीसीको विश्वका सय प्रभवशाली महिला छानिएपछि उनको चर्चा चुलिएको थियो । सपनालाई मन्त्रीदेखि सर्वसाधरण सबैले बधाई दिए । उनको कामको ताफिर गरे । उनलाई बेवारिस शव जलाउने काममा विनयजंगले प्रवेश गराएका थिए । सोही कामले सपना बीबीसीको सय प्रभावशाली महिलामा परिन् । विनयजंग बस्नेतसँगको भेटले यो कर्म गर्न हौसला दिएको सपनाले बताउँदै आइन् ।

सपनाले बस्नेतलाई कर्मका बुवा र विनयजंगले सपनालाई आफ्नो छोरी सरह भएको बताएका थिए । तर, अहिले सपना र विनयजंको चर्चा विवादमा परिणत भएको छ । उनीहरूको सम्बन्ध अहिले ‘बुबा–छोरा’को नभएर पीडक र पीडितमा परिणत भयो ।

सपनाका आमाबुबाले विनयजंगलाई यौन शोषण गरेको आरोप लगाएका छन् । एउटै ओछ्यानमा नसुत्दा सपनालाई मुखबाट रगत निस्किने गरि कुटेको सपनाका आमाबुबाको ओरोप छ । सपनाको चरित्रहत्या गर्ने सम्मको गतिविधिमा पुगेका बस्नेत पक्राउन परेका छन् ।

आफूलाई अभियन्ता भन्नेहरू केहीले सरकारी कार्यलयमा छापा मार्दै अराजक शैली अपनाउँदै आएका छन् । ती हुन् हेमराज थापा, ज्वाला संग्रौला, पुण्य गौतम । उनीहरूले सरकारी कार्यलयको हाकिमलाई कुर्सीबाटै तानेर निकाल्ने धम्कीसमेत दिने गरेका छन् ।

यही माघ १५ गते वैदेशिक रोजगार विभागमा हेमराज थापा, ज्वाला संग्रौला, पुण्य गौतमको टोलीले एक हुल यु–ट्युबरसहित अख्तियार प्राप्त अधिकारीकै शैलीमा छापा मारे ।

उनीहरूले विभागका महानिर्देशक कुमार दाहाललाई कुर्सीबाटै निकालेर फालिदिनेसम्म धम्की दिए । लकडाउनको बेला हेमराज थापा ‘खाना पाइनँ’ भन्दै सडकमा कुर्लिएका थिए । तर, पछि उनकै कोठामा २० बोरा चामल लुकाएर राखेको अवस्थामा भेटिएको थियो ।

सामाजिक अभियन्ताका नाममा बजारमा एकाएक देखा परेकाहरू ‘देशमा आफूभन्दा ठूला कोही छैन’ जस्तै यु–ट्युबरलाई बटुलेर चिच्याउँछन् । तर, उनीहरूको व्यवहार तुच्छ र घृणित पाइन्छ । न कुनै विचार छ, न त कुनै दर्शन नै । ज्ञान र सिद्धान्तको त कुरै छोडौँ । यिनीहरू घरबार भाँड्ने र मान्छेलाई बेवकुफ बनाउने अनि समाजलाई कित्ताकाट गर्ने कलामा माहिर देखिन्छन् ।

यी माथिका कथित अभियन्ता उदाहरणमात्रै हुन् । नेपालमा यस्ता अभियन्ता छिचिमिराजस्तै सल्बलाइरहेका छन् । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया किशोरी निर्मला पन्तको न्यायका लागि भन्दै आन्दोलनरत दुई अभियन्ताबीच पनि विवाद भएको थियो ।

मिना भण्डारी नेतृत्वको नागरिक संघर्ष समिति र हेलन श्रेष्ठ नेतृत्वको दवावमूलक संघर्ष समितिबीचको विवादले उग्ररुप लिएको थियो ।
सामाजिक अभियन्ताका नाममा बजारमा एकाएक देखा परेकाहरू ‘देशमा आफूभन्दा ठूला कोही छैन’ जस्तै यु–ट्युबरलाई बटुलेर चिच्याउँछन् । तर, उनीहरूको व्यवहार तुच्छ र घृणित पाइन्छ ।

न कुनै विचार छ, न त कुनै दर्शन नै । ज्ञान र सिद्धान्तको त कुरै छोडौँ । यिनीहरू घरबार भाँड्ने र मान्छेलाई बेवकुफ बनाउने अनि समाजलाई कित्ताकाट गर्ने कलामा माहिर देखिन्छन् ।

अहिले मिडियामा छाएका केही कथित अभियन्तालाई सामाजिक अभियन्ता भन्न नमिल्ने समाजशास्त्री कृष्ण भट्टचन बताउँछन् । वास्ताविक अभियन्ता गाउँगाउँमा भएकाले मिडियामा खासै ठाउँ नपाउने भट्टचन बताउछन् ।

यु–ट्युबमा छाएका अभियन्ताहरू सबै एकै ड्याङका मुला भएको उनको ठहर छ । सामाजिक अभियन्ताबीचको विवादबारे उनी भन्छन्– ‘सबै उही ड्याङका मुला हुन्, मुला मुलाको झगडा हो, एउटा मुलाले लिएको ठाउँको अर्को मुलाले लिनको लागि मात्रै हो, उनीहरूसँग केही लिनुदिनु नै छैन ।’

आफै सामाजिक अभियन्ताको पगरी गँुथेर उग्र र अशिष्ट शैलीमा प्रस्तुत हुने यस्ता तत्वहरु अभियन्ताका नाममा समाज भाँड्ने तत्व आफू बनिरहेको पटक्कै सोच्दैनन् । कसैको कमजोरी र खराबी पक्षलाई उग्र र अशिष्ट ढंगले चर्काे स्वरमा कराउँदा सामाजिक अभियन्ता बनिन्छ भन्ने भ्रम उनीहरूमा छ ।

सामाजिक अभियन्ताहरू शान्तिपूर्ण रुपमा जानुपर्ने भट्टचन बताउँछन् । सरकारी कार्यालयमा गएर धम्की दिने सामाजिक अभियन्ता नभएको उनी बताउछन् । उनी भन्छन्– ‘गुण्डागर्दी शैलीमा जाने, धम्की दिनेजस्ता कुराहरू विश्वमा सामाजिक अभियन्ताहरूले कही पनि गर्दैनन् र गर्न पनि हुँदैन ।’

अझै नेपालमा वास्ताविक अभियन्तहरू धेरै जन्मनुपर्ने भट्टचन बताउँछन् । वास्तविक अभियन्ता हुन भने जनताको लागि ज्यानको बाजी लगाउन सक्नुपर्छ । भट्टचन भन्छन्– ‘आफ्नो व्यक्तिगत र परिवारको स्वार्थलाई त्यागेर सामूहिक स्वार्थको लागि होमिनुपर्छ । कुनैबेला ज्यान पनि ज्यान जान सक्छ, ज्यानको बाजी पनि लगाउन सक्नुपर्छ, डर र लोप त्याग्नुपर्छ ।’

अभियन्ताको पछि किन ?
देशमा जुनसुकै तन्त्र आएपनि मूल समस्या भनेको हाम्रो समाजसँग जोडिएको मानवीय समस्या हो । ती समस्या मीठो भाषणले मात्र हल हुँदैन । राजनीतिमा बेथिति र कुसंस्कार झाँगिएकै छ ।तर, नानाथरी कुराले समाजमा थप असन्तुष्टि र आक्रोश बढाउने काम हुँदै आएको छ ।

यसैको फाइदा लिँदै आएका छन्, यी कथित अभियन्ताले । आमजनतालाई दुःख पर्दा हिजोआज यिनै अभियन्तालाई सम्झन थालिएको छ । अहिले यस्ता स्वघोषित अभियन्ताहरू बढ्नुको कारण सरकारको कामकारबाही, समाजप्रतिको अपेक्षा र असन्तुष्टि भएको भट्टचन बताउँछन् ।

सरकारप्रतिको असन्तुष्टिकै कारण सामाजिक अभियन्ताको कुरा पत्याउन थालिएको उनको ठहर छ । उनीहरूको उग्रतामा ताली पिट्न थालिएको छ । सरकारले जनताको अपेक्षा र समाजको मनोविज्ञानअनुसार काम गर्न नसक्दा गलत अभिप्रया बोकेका यस्ता अभियन्ताप्रति विश्वास गर्न थालिएको हो । यदि, सरकारले जनताको समस्याको निराकरण र न्यूनिकरण गर्ने हो भने यी र यस्ता कथित सामाजिक अभियन्ता सल्बलाउने थिएनन् ।

समाजमा यस्ता व्यक्ति छन्, जो साँच्चिकै समावसेवी भन्न लायक हुन् । तर, समाजसेवाको नाममा उदाएका यी उग्रवादी शैलीका अथित अभियन्ताको गतिविधिले समाजलाई उल्टै भड्काउँदैछन् । यस्तो कार्य देश र समाजका लागि राम्रो होइन ।

प्रतिक्रिया दिनुहोस्