Logo
Logo

पाँच दिनपछि शेयर बजार हरियो, चन्द्रागिरी हिल्सको शेयर मूल्य ४१ रुपैयाँले बढ्यो


दृष्टि संवाददाता


काठमाडौँ । पाँच दिनदेखि लगातार गिरावट आएको शेयर बजारमा सोमबार भने ४० अंकको उछाल आएको छ ।

निरन्तर बढ्दोक्रममा रहेको बजार विगत ५ कारोबार दिनमा १ सय ६५ दशमलव ४७ अंकको करेक्सन भएको थियो । सोमबार बजारले फेरि सकारात्मक गति लिएको छ । नेप्से सूचकले फेरि २५ सय विन्दु पार गरेको छ ।

सोमबार बजार सुधार हुँदा सातवटा कम्पनीको मूल्य स्थिर रह्यो भने चारवटाको घट्दा बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ । खानीखोला हाइड्रो, पञ्चकन्या माइ हाइड्रो, स्ट्यान्डर्ड चार्टर्ड बैंक र माहुली सामुदायिक लघुवित्तको सेयर मूल्य मात्रै घटेको छ ।

सोमबार कुल १ करोड १८ लाख ३८ हजार ४ सय ८८ कित्ता सेयर खरिद बिक्री भएका छन् । नेप्सेमा सूचीकृत सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा धेरै जीवन बिमा समूहमा ३ सय ५९ दशमलव १७ अंकले सुधार आएको छ ।

चन्द्रागिरी हिल्सको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य यस दिन ४१ रुपैयाँ बढेर ४ सय ५५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ दशमलव १२ प्रतिशत बढेको छ । सोमबार कुनै पनि कम्पनीको शेयरमूल्य २ प्रतिशतभन्दा बढी घटेको छैन ।

प्रतिक्रिया दिनुहोस्