राससका ज्यालादारी पत्रकारको रोजगारी सुनिश्चित नगरे आन्दोलन गर्ने महासंघको चेतावनी « Drishti News – Nepalese News Portal
Logo

राससका ज्यालादारी पत्रकारको रोजगारी सुनिश्चित नगरे आन्दोलन गर्ने महासंघको चेतावनी


दृष्टि संवाददाता



काठमाडौँ,  । राष्ट्रिय समाचार समिति (रासस)मा श्रमजीवी पत्रकारको रोजगारी सुनिश्चिताका लागि भइरहेको आन्दोलनको नेतृत्व अब नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको हुने भएको छ ।

सोमबार आन्दोलनरत पत्रकारहरुको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका सचिव रामप्रसाद दाहालले राससका क्रियाशील पत्रकारका माग सम्बोधन नगरे अबदेखिको आन्दोलनको नेतृत्व महासंघले गर्ने घोषणा गरे ।

‘रोजगारी सुनिश्चितताका लागि अहिले राससका पत्रकार शान्तिपूर्णरुपमा आन्दोल गरिरहेका छन्, उनले भने, यस आन्दोलनप्रति महासंघको पूर्ण समर्थन छ । यही यहाँका पत्रकारले गरेको आन्दोलनबाट रासस व्यवस्थापन पक्षले समस्या समाधान नगरे महासंघकै नेतृत्व थप आन्दोलन हुन्छ ।”

उनले सरकार आफैले लागु गरेका श्रमजीवि पत्रकार ऐन २०५१ अनुसार राससमा कार्यरत रहेका पत्रकारलाई स्थायी गर्नुपर्ने बताए । उनले महासंघकै नेतृत्वमा नीजि सञ्चारमाध्यम र मालिकका घर घेराउ गरी श्रमजीवि पत्रकारका माग सम्बोधन गर्न बाध्य बनाएको उल्लेख गर्दै सरकारले सञ्चालन गरेको सञ्चारमाध्यम पनि त्यसैगरी घेर्न नपरोस् भनेर चेतावनी समेत दिए ।

श्रमजीवि हित प्रवद्र्धन हित समितिका संयोजक दाहालले सरकारी सञ्चारमाध्यम राससले श्रमको सम्मान गर्दै आन्दोलनरत रहेका पत्रकारलाई प्रक्रिया पुराई स्थायी गर्नुपर्ने समेत बताए । उनले अव पनि माग सम्बोधन नभए महासंघकै नेतृत्वमा ताला लगाइने बताए ।

यस्तै, प्रेस युनियन नेपालका महासचिव अजयवाबु शिवाकोटीले काम गरिरहेका श्रमजीजि पत्रकारको रोजगारी खोसिने गरी राससले चालेको कदमप्रति असहमति जनाउँदै रासस व्यवस्थापन पक्षले तुरुन्तै श्रमजीवि पत्रकारको समस्या समाधान गरी स्थायी गर्नुपर्ने धारणा राखे ।

उनले यसअघि ३२ जना आन्तरिक प्रतियोगिताद्वारा गरिएको व्यवस्था अनुसार नै स्थायी गर्नुपर्ने बताए ।
उनले युनियन सँधै पत्रकारको हकहितमा रहेको भन्दै १९ जना पत्रकारको रोजीरोटी खोसिने गरी चालिएको कदमप्रति आपत्ति जनाए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले श्रमजीवि पत्रकारको रोजगारी गुम्ने गरी प्रक्रिया अगाडि बढाएकोले उक्त प्रक्रिया रोकी स्थायी गर्नुपर्ने बताए । उनले नीजि सञ्चारमाध्यमलाई श्रमजीवि पत्रकारको आन्दोलन महासंघकै नेतृत्वमा सफल भएको भन्दै राससका श्रमजीवि पत्रकारको आन्दोलनमा पनि महासंघकै नेतृत्वमा हुने बताए ।

यता, प्रेस संगठनका नेपालका प्रतिष्ठान कमिटीका इन्चार्ज हरिवल्लभ नेपालले राससका उनले हाम्रै सरकार भएको अवस्थामा हाम्रै साथीहरु रोजगारीबाट हात हुने अवस्था आउनु दुर्भाग्य भएको भन्दै पहिलेको प्रक्रिया अनुसार स्थायी गर्नुपर्ने बताए ।

यस्तै, नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका अध्यक्ष सन्तराम विडारीले विगतका अभ्यासको आधारमा न्यूनतम ६ महिना काम गरेका पत्रकारलाई राससले स्थायी गर्नुपर्ने बताए । ‘राससमा विगतमा कसरी स्थायी गरियो भन्ने हामीसंग प्रमाण रहेको छ’ उनले भने, ‘त्यही आधारमा अहिलेका पत्रकारलाई स्थायी गर्नुपर्दछ ।’

राष्ट्रिय कर्मचारी संघ राससका अध्यक्ष मनोज लामिछानेले राससमा धेरै विकृतिमध्येको श्रमजीवि पत्रकारका माग सम्बोधन नहुनु एउटा भएको भन्दै अहिले व्यवस्थापनकै कमजोरीका कारण पत्रकार आन्दोलित हुनु परेको बताए ।
कर्मचारी संगठन नेपाल राससका सहसंयोजक कालिका खड्काले श्रमजीवि पत्रकारका आन्दोलनप्रति पूर्ण समर्थन रहेकोले माग सम्बोधन गर्नुपर्ने बताए ।

प्रेस संगठनका नेपालका प्रतिष्ठान कमिटीका संयोजक विदुर खड्काले एउटै प्रकृतिका पत्रकार माग सम्बोधन हुने र सोही प्रकृतिका पत्रकारको माग सम्बोधन नहुनु दुर्भाग्य भएको भन्दै राससका पत्रकारको पेशागत सुरक्षा सुनिश्चित हुनुपर्ने बताए ।

प्रेस संगठनका राससका अध्यक्ष कृष्णराज गौतमले यसअघि राससमा सवै प्रक्रिया पुर्‍याएर स्थायी गरिएकोले अहिलेका श्रमजीविलाई पनि प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने बताए । राससमा १९ जना पत्रकारको रोजगारी खोसिने गरी रासस व्यवस्थापन पक्ष लागेको छ ।

विगत ६ महिनादेखि त्यहाँका पत्रकार आन्दोलित भएपनि अहिलेसम्म माग सम्बोधन गरिएको छैन । दोस्रो चरणको आन्दोलन अन्तर्गत सोमबार दुई घण्टा राससमा धर्ना कार्यक्रम गरिएको थियो । धर्ना कार्यक्रममा विभिन्न ११ पेशागत पत्रकारका संगठनले ऐक्यवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्