Logo
Logo
स्वास्थ्य र सौन्दर्य

कसरी हटाउने अनुहारको चाउरीपन ?


डा. रेखा थापा


उमेर बढेसँगै छालामा विभिन्न समस्या आउन थाल्छन् । सुन्दर छालामा मसिना धर्साहरु देखिन थाल्छ । जसले बुढ्यौलीको संकेत दिन्छ । उमेर बढ्दै जाँदा आँखा वरिपरि निधार, घाँटी, ओठको वरिपरि र गालामा चाउरी पर्न थाल्छ । यसले गर्दा सौन्दर्यमा ह्रास त आउँछ नै, साथै व्यक्तित्वमा पनि प्रभाव पर्छ र आत्मविश्वास कम हुँदै जान्छ ।

कारण के हुन सक्छ  ?

चाउरीपनको मुख्य कारण उमेर नै हो । हाम्रो छालाको भित्रि भागमा कोलाजिन र इलास्टिन नामक फाइब्रस प्रोटिन पाइन्छ । जसले छालालाई कसिलो बनाइराख्ने काम गर्छ । तर, उमेर बढ्दै जाँदा छालाको राम्रो स्याहार पुगेन भने यो प्रोटिनको उत्पादनमा कमी आउन थाल्छ र छाला लचिलो बन्छ । त्यस कारण छालामा धर्साहरु आउन शुरु गर्छ ।

यसैगरी कसैको छाला उमेर नपुग्दै पनि चाउरी पर्छ । यसको मुख्य कारण भनेको सूर्यको ‘अल्ट्राभायलेट’ किरण हो । यसले छालाको ‘कोलाजिन’ घटाउँछ र ड्यामेज गर्छ । साथै, छालामा उमेरभन्दा अगाडि चाउरीपन शुरु हुन्छ । कसैको जेनेटिक पनि हुन्छ । साथै, छालाको प्रकारले पनि निर्धारण गर्छ । चिल्लो छालाभन्दा सुख्खा छालामा चाँडै चाउरीपन शुरु हुन्छ ।

जेनेटिकली छाला सुख्खा छ र चाउरी पर्ने खालको छ भने उमेरभन्दा अगाडि नै यस्ता समस्या आउन सक्छन् । त्यसैगरी तनाव, धुम्रपान, मद्यपान, अव्यवस्थित जीवनपद्दति आदि कारणले पनि यस्तो समस्या आउन सक्छ ।

छालालाई बचाउन नियमितरुपमा सनस्क्रिन क्रिमको प्रयोग गर्ने, पर्याप्त मात्रामा पानी पिउने, व्यायाम गर्ने, व्यवस्थित जीवनयापन गर्ने, प्रशस्त मात्रामा भिटामिन र मिनरल्सयुक्त भोजन गर्ने गरेमा अनुहारलाई चाउरीपनबाट जोगाउन सकिन्छ ।

समाधान

गोलभेडा– गोलभेडामा प्रशस्त मात्रामा ‘भिटामीन–सी र ए’ हुन्छ । जुन छालाको लागि फाइदाजनक हुन्छ । गोलभेडालाई काटेर अनुहारमा दल्ने र १० मिनेटपछि सफा पानीले पखाल्ने । यसले छालाको कोषिका निर्माण गर्न सहयोग गर्छ र छाला चम्किलो हुनुका साथै चाउरीपन कम भएर जान्छ ।

गोलभेडालाई काटेर रस निकाल्ने र महमा मिसाएर अनुहारमा लेप लगाएर ५ मिनेटसम्म हल्का मसाज गर्ने । त्यसपछि पाँच मिनेटसम्म रहन दिने । यसले छालालाई चाउरीनबाट जोगाउछ ।

अण्डा– अण्डाको रानीमा ‘भिटामिन–ए’ पाइन्छ । जुन छालाको लागि अत्यन्तै फाइदाजनक हुन्छ । अण्डाको रानीलाई राम्रोसँग मिक्स गरी क्लिन्जरको रुपमा प्रयोग गर्दा यसले छालामा नमी प्रदान गर्छ । छालालाई नरम, मुलायम र चम्किलो बनाउनुको साथै चाउरीपनबाट पनि छुटकारा मिल्छ । रानी अनुहारमा लगाएर केही समय मसाज गर्ने र मनतातो पानीले पखाल्दा छाला चम्किलो हुन्छ ।

केरा र दुध– अनुहारमा केरा र दुधको प्याक बनाएर लगाउन सकिन्छ । पाकेको केरालाई पिसेर पेस्ट बनाउने । काँचो दुध मिसाई अनुहार सफा गरी लगाउने । र, २० मिनेटपछि पखाल्ने ।

एरोमा तेल–  एरोमा तेल बजारमा सजिलै किन्न पाइन्छ । जुन शतप्रतिशत शुद्ध हुन्छ । लेभेण्डर, लेमन, सेन्डलवुड, जेरेनियम, क्लेरीसेज मध्ये कुनैपनि केही एरोमा तेल लिई ओलिभ ओयलमा मिक्स गरेर अनुहारमा मसाज गरे चाउरीपन कम हुन्छ ।

एरोमा तेलहरु शुद्ध हुने भएकोले प्रत्यक्ष छालामा लगाउनु हुँदैन, ‘क्यारियर ओयल’ या सुगन्धरहित क्रिममा मिक्स गरी लगाउनुपर्छ । बजारमा विभिन्न सामाग्री उपलब्ध हुन्छन् । तर, प्राकृतिक रुपमा चाउरीपनको उपचारको लागि ‘एरोमा ओयल’ उपयुक्त हुन सक्छ ।

000

माथि उल्लेखित प्राकृतिक उपचार विधि छालाका लागि धेरै फाइदाजनक छ । जसलाई नियमित प्रयोग गर्नुपर्ने हुन्छ । तर, कसैलाई एलर्जी पनि हुन सक्छ । यदि त्यस्तो भयो भने प्रयोग गर्न बन्द गर्नुपर्छ ।

लगातार प्रयोग गर्दा पनि सकारात्मक परिणम नआए ‘ब्यूटी एक्स्पर्ट’सँग सल्लाह लिनुपर्छ । डर्माटोलोजिष्ट, कस्मेटोलोजिष्टहरुले गर्ने ननसर्जिकल ट्रिटमेन्टहरु जस्तै बोटोक्स, पी.आर.पी., माइक्रोनिडलिङ ट्रिटमेन्ट, केमिकल पिल, डरमल फिलर, लेजर तथा हाईड्रा फेसियल, अक्सिजिनो ट्रिटमेन्ट जस्ता उच्चस्तरको उपचारहरु गर्न सकिन्छ । जसले लामो समयसम्म बुढ्यौलीलाई रोक्न सकिन्छ ।

यसका साथै छालालाई बचाउन नियमितरुपमा सनस्क्रिन क्रिम प्रयोग गर्ने, पर्याप्त मात्रामा पानी पिउने, व्यायाम गर्ने, व्यवस्थित जीवनयापन गर्ने, प्रशस्त मात्रामा भिटामिन र मिनरल्सयुक्त भोजन गर्ने गरेमा अनुहारलाई चाउरीपनबाट जोगाउन सकिन्छ ।

 

(लेखक कस्मेटोलोजिष्ट, एस्थेटिसियन तथा एरोमा थेरापिस्ट हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्