Logo
Logo

क्वेर हुनुको अर्थ


दृष्टि संवाददाता


नवलपुर । फाइनप्रिन्टद्वारा आयोजित घुम्ती साहित्य महोत्सव फाइनप्रिन्ट फिभरमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको विषयमा छलफल भयो । लेखक निरञ्जन कुँवर र नाटककार प्रतीक्षा कट्टेलले ‘इन्द्रेणी’ नामक सत्रमा संवाद गरे । छलफलमा उनीहरूले नेपाली समाजमा लैङ्गिक विविधताबारे बुझाइ र त्यसले मानसिक एवं सामाजिक जीवनमा पार्ने असरबारे चर्चा गरे ।
पेशाले शिक्षाविद् रहेका लेखक कुँवरले आफ्नो व्यक्तिगत अनुभूति र बुझाइ व्यक्त गरे । उनले लैङ्गिक अल्पसंख्यकहरूलाई पितृसत्ता प्रभावित मूलधारको विचारसँग संघर्ष गर्न गाह्रो हुने तर्क राखे । भने, ‘मैले पढेर आफ्नो लैङ्गिकताबारे थाहा पाएँ । स्वीकारेँ पनि तर त्यही कुरा मेरो परिवार र समाजलाई बुझाउन गाह्रो भयो ।’
समाजले भाषा, संस्कृति र परम्परागत विविधतालाई जस्तै लैङ्गिक विविधता स्वीकार्न नसकेको उनको विचार छ । त्यसका कारण लैङ्गिक र यौनिक विषयमा छलफल कम हुने र यसबारे बुझाउन गाह्रो हुने उनको तर्क छ ।
‘फरक लैङ्गिकताबारे बुझ्न नखोज्ने, बुझेर पनि बुझ पचाउने र बुझ्न खोज्ने किसिमका मानिस छन्,’ उनले भने, ‘बुझ्ने उद्देश्य राख्नेलाई मात्र बुझाउन सकिन्छ । नत्र फरक लैङ्गिकताको हुनु नै गलत भन्नेहरूसँग सकिँदैन ।’
यसै वर्ष कुँवरको संस्मरण ‘बिट्विन क्विन्स एन्ड द सिटिज’ प्रकाशन भयो । पुस्तकमा उनले समाजमा लैङ्गिकता तथा यौनिक विविधताबारे प्रभाव पार्न आफ्नो अनुभूति समेटेको बताएका छन् । त्यस्तै नेपाली भाषाका पाठकका लागि सोही पुस्तक नेपालीमा अनुवाद हुनु प्रभावकारी बन्न सक्ने उनको भनाइ छ ।
शैक्षिक पाठ्यक्रम एवं अन्य अप्रत्यक्ष माध्यमबाट लैङ्गिता विविधताबारे ज्ञान नदिनुका कारण यस विषयबारे धेरै अन्योल रहेको स्वीकारे । भने, ‘लैङ्गिक र यौनिक विविधता पूर्वीय संस्कार हो या पश्चिमी भन्ने विषयमा समेत अन्योलता छ ।’ लैङ्गिकता र यौनिकता प्राकृतिक एवं संवेदनशील विषय भए पनि यसबारे आवश्यक चर्चा नभएको र लैङ्गिक अल्पसंख्यकहरूलाई झनै दबाएको उनको तर्क छ।
‘पिछडिएको वर्गलाई सधैं गाह्रो हुन्छ जसरी पितृसत्तामा महिलालाई गाह्रो छ’, कुँवरले उदाहरण दिए ।

प्रतिक्रिया दिनुहोस्